गाउँ चम्किए, सदरमुकाम खस्किए


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

एक वर्ष अघिसम्म तेह्रथुम छथर गाउँपालिका हमरजुङका हेम पाक्साँवा विभिन्न काम लिएर पटकपटक सदरमुकाम म्याङलुङ पुग्ने गर्थे।

स्थानीय सडक उपभोक्ता समितिको अध्यक्ष रहेका पाक्साँवा योजना सम्झौतादेखि प्राविधिक योजनालगायत विभिन्न चरण पार गर्दै कामको भुक्तानी लिइन्जेलसम्म कम्तीमा १२ पटकसम्म सदरमुकाम धाउँथे। तर, स्थानीय तह अधिकारसम्पन्न भएपछि भने उनलाई हाइसञ्चो भएको छ। भन्छन्, ‘सदरमुकाममा आउँदा कहिले काम पूरा होला, कति दिन बस्नुपर्ने हो भन्ने सधैंको पिरलो हुन्थ्यो अहिले मुक्त भइयो।’

तेह्रथुमका छथर र आठराईलगायत ठाउँबाट काम विशेषले सदरमुकाम आउँदा बासै बस्नुपर्ने स्थानीयकै कारण म्याङलुङमा सधैँ भीडभाड हुने गरेको थियो। सदरमुकाममा रहेका होेटलहरू पनि खचाखच हुन्थे। तर, अहिले परिस्थिति ठ्याक्कै उल्टो भएको छ। स्थानीय सरकार गठनसँगै स्थानीय तहका केन्द्र रहेका गाउँमा चहलपहल छ। सदरमुकाम भने सुनसान बनेका छन्।

संघीयताको कार्यान्वयनसँगै स्थानीय तहमा धेरै अधिकार गएर स्थानीय सरकार गठन भएको छ। यसको प्रभाव सदरमुकाममा देखिन थालेको म्याङलुङ बजारका व्यापारी रुपक सुवेदीले बताए। ‘एक वर्षअघि दैनिक २० देखि ५० हजार रुपैयाँसम्मको कपडा बिक्री हुन्थ्यो, हिजोआज त स्वात्तै घट्यो।’ यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

कर्मचारी र सेवाग्राहीसमेत गाउँकेन्द्रित हुँदा सदरमुकामको बजारलाई असर पुगेको उद्योग वाणिज्य संघ तेह्रथुमका पूर्वअध्यक्ष महेन्द्र काफ्लेले बताए। भने, ‘तहमै सबै सेवा पाइने भएपछि सदरमुकामको माग खस्केको छ।’ कृषि, शिक्षा, स्वास्थ्य, पशु, खानेपानी, सिँचाइ, महिला, घरेलु तथा साना उद्योगको सेवा र बैंकिङ कारोबार स्थानीय तहमा हुन थालेपछि सदरमुकाम सुनसान भएको अनुभव काफ्लेले सुनाए।

त्यसैगरी भोजपुर सदरमुकामवासीको अनुभव पनि यस्तै छ। दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुर सदरमुकामको चहलपहल दिनानुदिन घटदै गएको छ। जिल्लाकेन्द्रित अधिकार स्थानीय तहमा गएसँगै सर्वसाधारणको आवतजावतमा पनि कमी हुन थालेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com