२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
इमिग्रेशन

टीपीएस नविकरण नहुँदा देशनिकाला हुने नेपाली १५ सय

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा बस्दै आएका नेपालीहरुलाई अमेरिकी सरकारले दिदै आएको टीपीएस सुविधा नथपिंदा वास्तविक रुपमा देशनिकालाको सामना गर्ने नेपालीहरु झण्डै १५ सयको हाराहारीमा रहेका छन् । सन् २०१९ को जुन २४ पछि उनीहरुले देशनिकालाको सामना गर्नेछन् ।

हाल अमेरिकामा टीपीएएसमा रहेका नेपालीहरुको संख्या झण्डै ९ हजार रहेपनि ती मध्ये कैयन पुरानै स्टेटसमा फर्कनेछन् भने कैयनका इमिग्रेशन केसहरु पेन्डिङ अवस्थामा रहेका छन् । टीपीएस सुविधा लिएका कैयन विद्यार्थीहरु पनि पुरानो विद्यार्थी भिसामा नै फर्कनेछन् ।

ति बाहेक झण्डै १५ सय नेपालीहरु भने देशनिकालाका लागि वास्तविक रुपमा योग्य हुनेछन् । किनभने उनीहरु यस अगाडि नै अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका तर टीपीएसबाट संरक्षितहरु हुन् । देशनिकालाको आदेश पाइसकेका उनीहरुबाहेक विभिन्न भिसामा अमेरिकामा आएर कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिएकाहरुसमेत ठूलो संख्यामा रहेका छन् । यद्यपी उनीहरुले अमेरिकामा अध्यागमन सुविधाका लागि आवेदन दिनसक्ने कैयन विकल्पहरु समेत रहेका छन् ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको देशनिकाला गर्नुपर्ने नेपालीहरुको सुचीमा झण्डै १५ सय नेपालीहरु रहेको विभिन्न तथ्यांकले देखाएको छ । टीपीएस सकिनासाथ उनीहरुका ठेगानामा कुनै पनि बेला आइसका एजेण्टहरु पुग्न सक्छन् । उनीहरु पक्राउ पर्न सक्छन् । र देशनिकालामा पर्न सक्छन् ।

नेपालीलाई टीपीएस प्रदान गरेकै बर्ष अर्थात् सन् २०१५ मा अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरु १२८ जना थिए भने अदालतबाटै स्वेच्छिकरुपमा अमेरिका छाड्न आदेश पाउनेहरु १२ जना रहेका थिए । तर रिपोर्ट अनुशार ६ जना अपराध प्रमाणित भएका र १४ जना अपराध नगरेकासहित २० जना इमिग्रेशनको डिपोर्टमा परे भने ३९ जना अमेरिकाबाट फिर्ता भए । यसरी हेर्दा ८१ जना नेपालीहरुले सन् २०१५ मा अमेरिकाबाट डिपोर्टको आदेश पाइसकेपछि पनि अमेरिका छाडेनन् । तीमध्ये कैयन टीपीएस सुविधा लिएर बसे । टीपीएस सकिएपछि उनीहरु आइसको निशानामा हुनेछन् ।

विगत १८ बर्षको रेकर्ड हेर्दा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको निशानामा रहेका नेपालीहरुको संख्या १५२० रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, एक्ज्युकेटिभ अफिस फर इमिग्र्रेशन रिभ्यु, इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस र युएससीआईएसबाट प्राप्त तथ्यांकले देखाएको छ । उनीहरुमध्ये अधिकांशले टीपीएस लिएका छन् । ती १५२० जना नेपालीहरु इमिग्रेशन अदालतबाट डिपोर्टको आदेश पाइसकेका तर विभिन्न कारणले अमेरिकाभित्रै बसेकाले टीपीएस सकिएपछि उनीहरु आइसको पहिलो निशानामा पर्नेछन् ।

उनीहरुमध्ये अधिकांशको ठेगाना इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइससँग भएकाले टीपीएस सकिनासाथ उनीहरुका घरमा कुनैपनि बेला आइसका एजेण्टहरु छापामार्न आउन सक्छन् । उनीहरुले अदालतबाट देशनिकालाको आदेश पाइसकेपछि कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिई त्यत्तिकै अमेरिकामा बसिरहेको सन्दर्भमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नियन्त्रणमा लिएको खण्डमा विना कुनै अवरोध डिपोर्ट हुनसक्ने जोखिममा छन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →