भारत–पाक तनावले नेपाली सीमानाकामा कडाइ


प्रकाशित मिति : आश्विन २८, २०७३ शुक्रबार

भारत र पाकिस्तानबीच उत्पन्न तनावले नेपाली सुरक्षा निकायले नेपाल–भारत सीमामा निगरानी बढाएको छ । आतकंवादी नेपालको बाटो हुँदै भारत प्रवेश गर्न सक्ने आशंकाले नेपाली सुरक्षा निकायले नेपालगन्ज सीमानाकामा निगरानी बढाएको जनाएको छ । प्रहरीले दशगजामा गस्तीका साथै जाँचमा समेत कडाइ गरेको छ ।

सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले भारतीय सशस्त्र सीमा बल एसएसबीसँग दशगजामा संयुक्त गस्ती गर्दै आएको छ । सशस्त्र प्रहरी बल बिओपी कालाबन्जरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरको नेतृत्वमा १३ जना र एसएसबीको कम्पनी हेडक्वार्टर मुन्सीपुर्वाका इन्चार्ज सब–इन्सपेक्टर भीषमदेवको कमान्डमा १५ जनाको टोलीले बिहीबार दशगजामा संयुक्त गस्ती गरेको नयाँ पत्रिकामा खवर छ ।

पिलर नम्बर २६ देखि २९ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी निरीक्षक कुँवरले बताए । सीमामा ओहोरदोहोर गर्नेमाथि निगरानीका साथै चेकिङमा कडाइ गरिएको बताए । खुला सीमानाका कारण आतंकवादीले नेपाली बाटो प्रयोग गरेर भारतमा आपराधिक गतिविधि सञ्चालन गर्न सक्ने भएकाले सीमामा सुरक्षा सतर्कता बढाइएको उनले जानकारी दिए ।

सीमामा संयुक्त गस्ती

नेपाली र भारतीय सुरक्षाकर्मीले सातामा सामान्यतयः एकपटक संयुक्त गस्ती गर्दै आएको भन्दै सशस्त्र प्रहरी निरीक्षक कुँवरले सीमा अतिक्रमण, पिलरको रेखदेखका लागि अनुगमन गर्नुका साथै दुवै देशका सुरक्षाकर्मीबीच सद्भाव र समन्वय कायम गर्ने उद्देश्यले संयुक्त गस्ती गर्ने गरिएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com