काठमाडौंमा प्रहरीको विशेष अप्रेशन: २३ महिला सहित २३५ जना पक्राउ


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

महानगरीय प्रहरी परिसर काठमाडौं मातहत रहेका वृतहरुमा कार्यरत घुमुवा प्रहरी र क्विक रेस्पोन्स टिम (क्युआरटी) सम्मिलित प्रहरी टोलीले विशेष अप्रेशन सञ्चालन गरेको छ ।

मंगलबार भएको विशेष अप्रेशनका क्रममा गलत क्रियाकलापमा संलग्न २३ महिलासहित दुई सय ३५ जनालाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।

‘आफ्नो क्षेत्रमा गुण्डागर्दी गर्ने, लागू औषध सेवन गर्ने तथा शंकास्पद गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिएका छौं’ एसएसपी पोखरेलले भने, ‘पक्राउ परेकाबारे अनुसन्धान भईरहेको छ ।’

काठमाडौं प्रहरीले केही दिनयता आकस्मिक रुपमा सर्च अप्रेशन चलाउँदै आएको छ । काठमाडौं प्रहरी परिसर मातहत रहेका १४ ओटा महानगरीय प्रहरी वृतमा कार्यरत सादा पोशाकका प्रहरी र मोटरसाईकलमा गस्ती गर्ने क्युआरटी (क्विक रेस्पोन्स टिम) ले प्रभावकारी काम नगरेको भन्दै एसएसपी पोखरेलले मंगलबार बिहान सबैलाई टेकुमा भेला गरेर ब्रिफिङ गरेका थिए ।

‘ट्यापे मुन्द्रले समाजमा दुःख दिएको बारे धेरै गुनासो आएको थियो’ पोखरेलले भने, ‘पक्राउ परेकाहरुलाई सम्बन्धीत वृतमा राखेर अनुसन्धान गरिरहेका छौं ।’

प्रभाकारी प्रहरी परिचालनका लागी क्युआरटी र सादा पोशाकमा ठुलो संख्याका प्रहरी परिचालन गरेर सर्च अप्रेशन सञ्चालन गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com