अमेरिकी ‘आइस’ एजेन्ट इटाली आउने खबरले आक्रोश र चिन्ता


प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार

अमेरिकाले इटालीमा आफ्नो आप्रवासन एजेन्सी ‘इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आइस) का एजेन्टहरू पठाउने भएको छ।

इटालीमा आयोजना हुने शीतकालीन ओलम्पिकका क्रममा अमेरिकी सुरक्षा कार्यमा सहयोग पुर्‍याउन आफ्ना एजेन्ट पठाउने कुरा ‘आइस’ ले पुष्टि गरेको हो। मिलान–कोर्टिना शीतकालीन ओलम्पिक आगामी फेब्रुअरी ६ देखि सुरु हुँदैछ।

विशेष गरी अमेरिकाको मिनियापोलिसमा ‘आइस’ एजेन्ट संलग्न घातक गोलीकाण्डपछि, अमेरिकाको यो निर्णयले इटालीमा आक्रोश र चिन्ता पैदा गरेको छ। मिलानका मेयर बेप्पे सालाले ‘आइस’ लाई “मानिस मार्ने मिलिसिया” भन्दै टिप्पणी गरेका छन्।

यद्यपि, अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी  (डीएचएस) ले ओलम्पिकका सबै सुरक्षा गतिविधिहरू पूर्ण रूपमा इटालियन अधिकारीहरूको निर्देशन र नियन्त्रणमा रहने स्पष्ट पारेको छ।

‘आइस’ का एजेन्टहरू इटालीका सडकमा देखिने छैनन्। सुरक्षाको मुख्य जिम्मेवारी इटालीको प्रहरी, ‘काराबिनिएरी’ र ‘गार्डिया दी फिनान्जा’ मै निहित रहनेछ।

इटालीको गृह मन्त्रालयका अनुसार अमेरिकाले मिलानस्थित आफ्नो वाणिज्य दूतावासमा एउटा ‘अपरेसन कक्ष’ स्थापना गर्नेछ, जहाँबाट विभिन्न अमेरिकी एजेन्सीहरूले खेलकुद अवधिभर समन्वय गर्नेछन्। अमेरिकी अधिकारीहरूका अनुसार ‘आइस’ अन्तर्गतको ‘होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन’ को भूमिका “पूर्ण रूपमा सहयोगी” मात्र हुनेछ।

उनीहरूले इटालियन अधिकारीहरूसँग मिलेर अन्तर्राष्ट्रिय आपराधिक समूहहरूबाट हुन सक्ने जोखिम पहिचान र न्यूनीकरणमा काम गर्नेछन्। उनीहरूले अमेरिका बाहिर आप्रवासन कानुन कार्यान्वयन नगर्ने कुरामा पनि जोड दिएका छन्।

स्मरण रहोस्, मिनियापोलिसमा गत जनवरी ७ मा ‘आइस’ एजेन्टको गोली प्रहारबाट रेनी निकोल गुड नामकी महिलाको मृत्यु भएपछि अमेरिकाभर विरोध प्रदर्शन भइरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com