भारतमा घातक निपाह भाइरसको प्रकोप: एसियाली देशहरूमा उच्च सतर्कता


प्रकाशित मिति : माघ १३, २०८२ मंगलबार

a gray and red ball with red hearts on it

फोटो : नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेस / अनस्प्ल्यास

भारतमा निपाह भाइरसको प्रकोप देखिएपछि एसियाली देशहरूमा सतर्कता अपनाउन थालिएको छ। पश्चिम बंगाल राज्यमा घातक निपाह भाइरस फैलिएको पुष्टि भएपछि केही देशहरूले विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच कडा बनाएका छन्।

थाइल्याण्डले पश्चिम बंगालबाट आउने उडानहरू अवतरण हुने बैंकक र फुकेटका तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको स्क्रिनिङ सुरु गरेको छ। त्यसैगरी, नेपालले पनि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भारतसँग जोडिएका स्थल सीमा नाकाहरूमा स्वास्थ्य जाँच सुरु गरेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार डिसेम्बरयता पश्चिम बंगालमा दुई जनामा निपाह भाइरस पुष्टि भएको छ। उनीहरू स्वास्थ्यकर्मी रहेको बताइएको छ। ती संक्रमितसँग सम्पर्कमा आएका १९६ जनालाई पहिचान गरी परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।

निपाह भाइरस जनावरबाट मानिसमा सर्न सक्ने प्रकृतिको भाइरस हो। यसमा मृत्युदर ४० देखि ७५ प्रतिशत सम्म हुने भएकाले यसलाई अत्यन्तै घातक मानिन्छ। हालसम्म यस भाइरसको उपचारका लागि कुनै निश्चित औषधि वा खोप उपलब्ध छैन। यो भाइरस सुँगुर तथा फलफूल खाने चमेरा जस्ता जनावरबाट मानिसमा सर्न सक्छ। दूषित खाना वा संक्रमित व्यक्तिसँगको सम्पर्कबाट पनि यो भाइरस फैलिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्व स्वास्थ्य संगठनले निपाह भाइरसलाई शीर्ष १० प्राथमिक रोगहरूको सूचीमा राखेको छ, जसमा कोभिड-१९ र जिका भाइरस जस्ता महामारी फैलाउन सक्ने रोगहरू पनि समावेश छन्। यसको इन्क्युबेसन अवधि (भाइरस शरीरमा प्रवेश गरेदेखि लक्षण देखिने समय) ४ देखि १४ दिनसम्म हुन्छ।

संक्रमित व्यक्तिमा विभिन्न लक्षण देखिन सक्छन्, भने कतिपयमा कुनै लक्षण नदेखिन पनि सक्छ। सुरुवाती लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, बान्ता हुने तथा घाँटी दुख्ने समस्या देखिन्छन्। केही समयपछि अत्यधिक निद्रा लाग्ने, चेतनाको स्थितिमा परिवर्तन र निमोनियाको संक्रमण हुन्छ। गम्भीर अवस्थामा इन्सेफालाइटिस (मस्तिष्क सुन्निने अवस्था) हुन सक्छ, जसले गर्दा मृत्यु समेत हुन सक्छ।

निपाह भाइरसको पहिलो प्रकोप सन् १९९८ मा मलेसियामा सुँगुर पाल्ने किसानहरूमा देखिएको थियो। पछि यो सिंगापुरसम्म फैलिएको थियो। यस भाइरसको नाम पहिलो पटक पत्ता लागेको गाउँको नामबाट राखिएको हो। त्यसबेला १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने संक्रमण नियन्त्रण गर्न करिब १० लाख सुँगुर मारिएको थियो। यसले पशुपालन क्षेत्रमा ठूलो आर्थिक क्षति पुर्‍याएको थियो।

बंगलादेशमा सन् २००१ यता १०० भन्दा बढी मानिसको निपाह भाइरसका कारण मृत्यु भइसकेको छ। भारतमा पनि यसअघि पश्चिम बंगालमा सन् २००१ र २००७ मा प्रकोप देखिएको थियो।

पछिल्ला वर्षहरूमा केरला राज्य निपाह भाइरसको मुख्य केन्द्र बनेको छ। सन् २०१८ मा त्यहाँ १९ जना संक्रमितमध्ये १७ जनाको र सन् २०२३ मा ६ संक्रमितमध्ये २ जनाको मृत्यु भएको थियो।

हालसम्म भारतबाहिर निपाह भाइरसको कुनै नयाँ केस रिपोर्ट भएको छैन। तर, सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभिन्न देशहरूले सावधानीका उपायहरू कडा बनाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com