महिला सांसदमाथि यौन दुर्व्यवहार प्रयासको आरोपमा फ्रान्सका पूर्व सिनेटरलाई जेल सजाय


प्रकाशित मिति : माघ १४, २०८२ बुधबार

फ्रान्समा एक महिला सांसदलाई पेय पदार्थमा लागुऔषध मिसाई यौन दुर्व्यवहार प्रयास गरेको अभियोगमा पूर्व सिनेटर दोषी ठहर भएका छन्।

६८ वर्षीय पूर्व सिनेटर जोएल गुएरियाउ ५० वर्षीया सांसद सान्द्रिन जोसोलाई लागुऔषध दिएर दुर्व्यवहार गर्न खोजेको आरोपमा दोषी पाइएका हुन्।

अदालतले उनलाई चार वर्षको जेल सजाय सुनाएको छ, जसमध्ये १८ महिना उनले अनिवार्य रूपमा कारागारमा बिताउनुपर्नेछ। साथै, उनलाई पीडित सांसदलाई मानसिक क्षतिपूर्ति स्वरूप ५,००० यूरो तिर्न समेत आदेश दिइएको छ।

नोभेम्बर २०२३ मा पूर्व सिनेटर गुएरियाउले सांसद जोसोलाई पेरिसस्थित आफ्नो अपार्टमेन्टमा बोलाएका थिए। उनले जोसोको पेय पदार्थमा एमडीएमए (एक्स्टेसी) मिसाएको स्वीकार गरे पनि उक्त कार्य ‘दुर्घटना’ भएको र आफ्नो कुनै आपराधिक मनसाय नभएको दाबी गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जोसोले गुएरियाउको पुनःनिर्वाचनको उत्सव मनाउन उनको घर गएको बेला श्याम्पेन पिएपछि आफू अस्वस्थ महसुस गरेको बताइन्। उनले अदालतमा भनिन्, “म साथीलाई भेट्न गएकी थिएँ, तर त्यहाँ एक आक्रमणकारीलाई भेटेँ।”

जोसो कुनै प्रकारले अपार्टमेन्टबाट निस्कन सफल भई अस्पताल पुगेकी थिइन्। विष परीक्षण (टक्सिकोलोजी रिपोर्ट) ले उनको रगतमा सामान्यभन्दा तीन गुणा बढी एमडीएमएको मात्रा पुष्टि गरेको थियो।

गुएरियाउले आफू डिप्रेसनमा रहेको र अघिल्लो रात आफ्नै प्रयोगका लागि राखेको पेय पदार्थ झुक्किएर जोसोलाई दिएको दाबी गरे पनि अदालतले त्यसलाई स्वीकार गरेन।

फैसला सार्वजनिक भएपछि जोसोले “ठूलो राहत” महसुस गरेको बताएकी छन् भने गुएरियाउका वकिलहरूले पुनरावेदन गर्ने तयारी गरेका छन्।

जोसो क्यारोलिन डारियनले स्थापना गरेको ‘केमिकल सबमिसन’ विरुद्धको एक संस्थामा पनि आबद्ध भएकी छन्। 

डारियन फ्रान्सका डोमिनिक पेलिकोटकी छोरी हुन् । उनलाई २०२४ मा आफ्नी पत्नीलाई वर्षौंदेखि लागुऔषध खुवाएर घरमै पुरुषहरूलाई बलात्कार गराउन दिएको अभियोगमा दोषी ठहर गरिएको थियो। 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com