लाइसेन्स बनाइदिने भन्दै ७० हजार घुस लिने ट्राफिक प्रहरी अख्तियारको फन्दामा


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

सवारीचालक इजाजत पत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै ७० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा लमजुङमा एक प्रहरी जवान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

मंगलबार साँझ बेसीशहर नगरपालिका –७ मा रहेकाे वाणिज्य बैंकनजिकैको सोनी रेस्टुरेन्टमा नगद ७० हजार रुपैयाँ लिँदै गर्दा ट्राफिक जवान मोतिकुमार श्रेष्ठलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

गाडीको लाइसेन्स बनाइदिने भन्दै २ जना सेवाग्राहीसँग ३५–३५ हजार रुपैयाँका दरले रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाबाट खटीआएका डीएसपी महेन्द्र खड्काले बताए ।

उनले भने, ‘पक्राउ गरिएका ट्राफिक जवान श्रेष्ठमाथि थप अनुसन्धान गरिनेछ ।’ घुस लिँदै गर्दा ट्राफिक प्रहरी जवान श्रेष्ठ बर्दीमै थिए ।

वीरगञ्जबाट ठूलो गाडीको लाइसेन्स बनाइदिने भन्दै श्रेष्ठले घुस लिएकाे स्रोतको भनाइ छ । प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले ट्राफिक जवान श्रेष्ठले वीरगञ्चबाट हेभी गाडीको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीलाई आश्वासन दिएको पाइएकाे बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com