प्रधानन्यायाधीशमा तीनजनाको नाम सिफारिस


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

चैत १३, काठमाडौं । – न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

न्याय परिषद्को आज ९मंगलवार० बसेको बैठकले तीन जनाको नाम संवैधानिक परिषद्मा पठाउने निर्णय गरेको हो ।

परिषद्का सचिवले निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीलाई चैत १ मा अवकाश पत्र थमाएपछि सर्वोच्च अदालतको नेतृत्व कामु प्रधानन्यायाधीश दीपकराज जोशीले गर्दै आएका छन् । भावी प्रधानन्यायाधीशका लागि जोशीसहित ओमप्रकाश मिश्र र चालेन्द्रशमशेर जबराको नाम सिफारिस गरिएको हो ।

न्यायपरिषद्को सिफारिशका आधारमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको लागि एक जनाको नाम संसदीय सुनुवाई समितिमा पठाउँछ । वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्ने विगतको प्रचलन छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने संवैधानिक परिषद्मा सभामुख, प्रतिपक्षी दलको नेता, उपसभामुख र कानून मन्त्री सदस्य रहने व्यबस्था छ । संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

संसदीय सुनुवाइ समिति छैन

परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरे पनि सुनुवाइका लागि संसदीय सुनुवाइ समिति भने गठन भइसकेको छैन् । फागुन २१ गतेदेखि शुरु भएको संसदले संसदीय समिति गठन गरिसकेको छैन ।

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली बनाउन एक समिति गठन गरेको छ । एमाले सांसद कृष्णभक्त पोखरेल संयोजकत्वको समितिले नियमावली बनाए पछि मात्र समिति गठन प्रक्रिया शुरु हुनेछ ।

समितिलाई नियमावली बनाउन एक महिनाको समय दिइएको छ । नियमावली पारित भएपछि मात्र समिति गठन हुने र सुनुवाइको काम हुनेछ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com