नेताले यौन शोषण गरेको भन्दै संसदको गेटमै हारगुहार


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

सोमबार प्रदेशसभा बैठक सकाएपछि प्रदेश सांसदहरु बाहिर निस्कँदै थिए । त्यो भीडमा राजपा महामन्त्री मनिष सुमन पनि थिए ।

प्रदेशसभा भवनको ढोका बाहिर निस्कन नपाउँदै एक महिलाले उनलाई रोकिन् र हातमा बोकेको कागजको पन्ना देखाउँदै हार गुहार गर्न थालिन् । उनी रहेछिन्, निशा झा ।

सुरुमा चर्को स्वरले चिच्याएकी उनी सांसदहरुले के भयो भनेर सोधेपछि केही नम्र भइन् । निशाले बताए अनुसार उनी स्वास्थ्यकर्मी पनि हुन् । तर, सरुवा गराइदिन्छु भन्दै राजपाका नेता रमन सिंहले आफूलाई शारीरिक शोषण गर्नुका साथै रकम समेत लिएर भागेको उनको आरोप छ ।

ठगीको अारोपमा उनी जेल परेकी थिइन् । जेलबाट छुटेपछि पूर्व चिनजान भएका रमनले राजपा नेता राजेन्द्र महतोलाई भेटाउँछु भन्दै काठमाडौं ल्याएको भन्दै उनले भनिन्, ‘त्यसपछि उनले दुर्व्यहार र शोषण गरे ।’

सांसदहरुले तपाईलाई न्याय दिलाउँछन् भने । तर, निशाको चित्त बुझेनछ र म कहाँ-कहाँ जाउँ भन्दै कराउन थालिन् । यो सायद राजपा नेता एवं सांसद मनिषलाई मन परेन, उनी पनि आक्रोसित मुद्रामा प्रस्तुत भए ।

उनले भने, तरुन्तै न्याय दिउँ ? माओवादी हौं र हामी ? विधिसम्वत रुपमा न्याय दिन्छौं ।

 

निशाः रमन सिंह भन्छ भूमिगत छु । तपाईको कार्यकर्ता, केन्द्रीय सदस्यलाई सम्पर्क गर्नुस् । यदि म दोषी छु भने मलाई काबारही गर्नुस् तर, राजेन्द्र महतोलाई देखाएर मलाई शोषण गरिएको छ, मेरो पैसा लगिएको छ ।

केहीबेर चर्काचर्की भएपछि प्रदेशसभा सदस्य सुमन छानविन गर्छौ भन्दै त्यहाँबाट हिडेका छन् ।

के हो विवाद ?

निशा झाको दाबी छ कि राजपा केन्द्रीय सदस्य रमन सिंहले प्रलोभन देखाएरयौन शोषण गरे । आफ्नो सञ्चयकोषमा भएको रकम समेत लगेको उनले दाबी गरेकी छन् । तर, रमन सिंहले भने निशाले महतोलाई भेटेर सरुवाबारे कुरा गरेको भएपनि आफूले नलगेको दाबी गरेका छन् ।

निशा र रमनले एक अर्काविरुद्ध धनुषा प्रहरीमा उजुरी पनि दिएका छन् । निशाले ६ लाख लगेर ठगेको भन्दै रमनले जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिएका छन् । निशाले पनि सरुवा गराउँछु भनेर यौन शोषण गर्नुका साथै रकम लिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com