बिजुली नहुँदा रामप्रसाद राई गाउँपालिकाको काम सोलारबाट गर्न बाध्य


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

चैत १२, भोजपुर । गाउँपालिका कार्यालयसम्म बिजुली पुग्न नसक्दा दैनिकजसो कामकाज गर्न समस्या भएको छ । बिजुली नहुँदा कम भोल्टेजको सोलार बत्तीका भर पर्दा रामप्रसाद राई गाउँपालिका कार्यालयको कामकाज प्रभावित बनेको हो ।

गाउँपालिका कार्यालय रहेको स्थान ओझेलमा भएकाले सोलार सेटबाट काम सञ्चालन गर्न गाह्रो भएको जनाइएको छ । बिजुली नहुँदा सोलार बत्तीकै भरमा कार्यालयको प्रिन्टिङ, फोटोकपी, कम्प्युटर, इन्टरनेट, डकुमेन्टेसनजस्ता अत्यावश्यक काममा असहजता भएको प्रमुख प्रशासकीय अधिकृत विक्रम लिम्बूले बताए ।

‘हाम्रो गाउँपालिका अलिक ओझेल ठाउँमा पर्छ । राम्ररी घाम नपरेपछि सोलारको ब्याट्री ब्याकअपले पनि धान्दैन । कति खेर झिप्प जाने हो टुंगो पनि हुन्न । काम गर्न साह्रै गाह्रो भएको छ’, उनले भने, ‘हिउँदमा त दुःख–सुख धान्ला तर वर्षा लागेपछि भने सोलारबाट काम गर्न सकिन्न होला ।’

बिजुली समस्याले कार्यालयको काम गर्न कर्मचारीलाई बिदाका दिन पनि फुर्सद हुँदैन । केन्द्रीय प्रसारणको बिजुली लाइन तान्ने पहल भए पनि जडान गर्न नसकिएको लेखापाल मनोजकुमार शर्माले बताए । ‘सानो भोल्टेजका कारण फाइलिङ, डकुमेन्टेसनका काम गर्न गाह्रो भएको छ’, उनले भने, ‘प्रिन्टरले नधान्ने भएकाले कागजपत्रको काम आफैंले गर्नुपर्छ । शनिबार बिदाको दिन पनि फुर्सद पाइन्न ।’

स्थानीय सरकारपछि पनि कार्यालय कामचलाउ लेखापालकै भरमा सञ्चालन गर्नुपर्ने अवस्था छ । पुस ६ गते पहिलो गाउँसभापछि जिल्ला प्राविधिक कार्यालयले पठाएका लेखापाल प्रदीप भण्डारीको दोहोरो कार्यभार र कार्यालयमा अनुपस्थित भएपछि एक महिनामै काजमा सरुवा लिए । त्यसलगत्तै कार्यालयले महिला र भूसंरक्षण कार्यालय हेरिरहेका मनोजकुमार शर्मालाई लेखापाल नियुक्त गरेको थियो ।

भौतिक योजनामध्ये अहिलेसम्म सडकको कामले मात्र गति लिएको गाउँपालिका अध्यक्ष विजय राईले बताए । तेस्रो चौमासिक सुरु हुन लाग्दासम्म एक करोडबराबरको सडक खन्ने र स्तरोन्नतिको काम सम्पन्न भएको उनको भनाइ छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com