अनलाइन नेटवर्किङ व्यापारका नाममा लाखौं ठगी गर्ने दुई विदेशी नागरिक पक्राउ


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

चैत १२, काठमाडौं । काठमाडौंमा बसेर नेपालीहरुलाई अनलाइन नेटवर्किङ व्यापारका नाममा ठग्दै आएका दुई विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक तरसेम शर्मा रहेका छन् । उनीहरु काठमाडौं महानगरपालिका ३० वत्तिसपुतलीमा डेरा गरेर बस्दै आएका थिए । काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले दुवैजना ६ महिनाअघि नेपाल आएको र विश्वमा नाम चलेको भनिएको फोरेक्स इन्टरनेश्नल मनी मार्केटको एजेन्टको रुपमा काम गरिरहेको बताए ।

यो कम्पनीसँगै संग्लनता रहेको वेष्टर्न एफएक्स नामको अनलाइन कम्पनी बंगलादेशमा पनि रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले बंगलादेश, क्यानाडा, अमेरिकामा कम्पनी रहेको बताउँदै अनलाइन विजनेसमा लगानी गरे २० देखि ६० प्रतिशत फाइदा हुने भन्दै रकम असुल गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उनीहरुले लाखौ रकम उठाएर भाग्ने योजना बनाएको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ । नेपालमा अनलाइन विजनेस गैरकानुनी भएको एसएसपी पोखरेलले बताए । बंगलादेशी र भारतीय नागरिकको नेटवर्किङ अन्य नेपालीको संग्लनताको विषयमा अनुसन्धान भइरहेको पोखरेलले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com