सार्वजनिक स्थानमा फोहर फाल्नेलाई कारबाही गर्न गाह्रो


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

चैत ११, ललितपुर । अघिल्ला वर्षमा सार्वजनिक स्थानमा फोहर फाल्दा कारबाही गर्ने नगर प्रहरीले यसवर्ष कारबाही अघि बढाउन सकेको छैन ।

नगर प्रहरीसँग हतियार नहुँदा रातका समयमा काम गर्न नसकेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो ।

नेपाल प्रहरीको सहकार्यमा अघिल्ला वर्षमा सार्वजनिक स्थानमा फोहर फाल्नेलाई कारबाही हुने गरेको थियो । सार्वजनिक स्थानमा दिनमा भन्दा रातको समयमा फोहर फाल्ने गरिएको छ । हतियार नहुँदा नगर प्रहरीले रातका समयमा कारबाही गर्न सकेको छैन ।

“प्रहरीले सक्रियता देखाउँदा मात्रै हामी काम गर्न सक्छौँ,” महर्जनले भन्नुभयो ।

ललितपुरका गाबहाल, महापाल, मंगलबजार, लगनखेल बसपार्क, पाटन अस्पताल अगाडि, इटिलगायत स्थानमा जथाभावी फोहर फालेको पाइन्छ । नगर प्रहरीसँग फोहर फाल्ने व्यक्तिलाई जरिवानासहित कारबाही गर्ने अधिकार छ । “नगर सफाइ राख्ने हाम्रो जिम्मेवारी भए पनि प्रहरीसँगको सहकार्य नभई हामीले मात्रै गर्न गाह्रो छ,” उहाँले भन्नुभयो । गतवर्ष नगर प्रहरीले फोहर फाल्ने ३०० जनाभन्दा बढीलाई जरिवानासहित कारबाही गरेको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com