कपिलवस्तुबाट मासिक २७ लाखको अन्डा कारोबार
प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार
चैत ११, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकाभित्र ३ करोडको लागतमा व्यावसायिक रूपमा लेयर्स कुखुरा पाल्न थालेपछि मासिक २७ लाखको अन्डा कारोबार हुने गरेको छ ।
माउन्ट एभरेस्ट एग्रिकल्चर प्रालिको नामबाट मधौलियामा १२ हजार लेयर्स कुखुरा पालिएको छ । स्थानीय आठजना युवाको सामूहिक लगानीमा पाल्न थालिएको लेयर्स कुखुराको फर्म जिल्लामै ठूलो रहेको माउन्ट एभरेस्ट एग्रिकल्चर प्रालिका अध्यक्ष युवराज पोख्रेलले दाबी गरे । पोख्रेलका अनुसार १२ हजार लेयर्स कुखुरा पालिएको हो । कुखुराले हाल दैनिक ९ हजार अन्डा उत्पादन गर्दै आएको उनको भनाइ छ ।
अन्डामा देशलाई आत्मनिर्भर बनाउने र स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसाथ लेयर्स कुखुरा पाल्न थालिएको हो । ‘तीन वर्षदेखि पाल्न थालिएको लेयर्स कुखुरामा लगानी तीन करोड पु¥याएका छौं,’ उनले भने, ‘अझै लगानी थपेर कुखुराको संख्या बढाउने योजना बनाएका छौं ।’
डेढ बिघा क्षेत्रफलमा पाँचवटा फर्म बनाई लेयर्स पालन गरिएको हो । फर्ममा नौजना कामदारले प्रत्यक्ष रोजगारी पनि पाएका छन् । हाइलाइन जातको अन्डा उत्पादन गर्ने लेयर्स कुखुराको अन्डाबाट मासिक २७ लाखको कारोबार हुने व्यवस्थापक नन्दराम पोख्रेलले बताए । उत्पादित अन्डालाई बजारमा पठाउन कुनै समस्या नरहेको व्यवस्थापक पोख्रेल बताउँछन् । ‘उत्पादित अन्डा बिक्री गर्न कुनै समस्या छैन,’ उनले भने, ‘अन्डाको भाउमा बेलाबेला आउने उतारचढावले समस्या पार्ने गरेको छ ।’ राज्यबाट बजार भाउमा एकरूपता ल्याउनुपर्नेमा पोख्रेलको माग छ । भारतीय खुला सिमानाका कारण नेपाली अन्डाको बिक्री वितरणमा समस्या आउने गरेको उनको भनाइ छ । भारतबाट खुलेयाम नेपाल भित्रिने अन्डा सस्तो हुन्छ । त्यसले गर्दा नेपाली अन्डाको बजार भाउमा उतारचढाव आउने गरेको पनि उनले बताए ।
लगानीको हिसाबले नेपाली कृषकलाई राज्यले केही नगरे पनि भारतीय कृषकलाई राज्यले थुप्रै कुरामा लगानी गरेको उनले प्रस्ट पारे । नेपाली उत्पादन र भारतीय उत्पादनसँगै कुनै तुलना गर्न मिल्दैन । यता अन्डाको कारोबार गर्दै आएका व्यवसायीले पनि आफूखुसी अन्डाको भाउ निर्धारण गर्दा समस्या आउने गरेको लगानीकर्ता सरोज खनालको भनाइ छ । फर्ममा अन्डा उत्पादन बढी भए पछि व्यवासायीले मूल्य घटाउने र कम भए मूल्य बढाउने गर्दा निकै समस्या आएको खनालले बताए ।
१२ हजार लेयर्सलाई बढाएर १५ हजार पु¥याउने उनकोे उद्देश्य छ । देशलाई कृषिमा आत्मनिर्भर बनाउने गरी कृषि क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्तालाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा अर्का लगानीकर्ता सुन्दर पाण्डेले बताए । ‘कुखुरा पालनमा करोडौं लगानी गर्नु कम चुनौतीपूर्ण छैन तर पनि कृषिमा केही गरौं भन्ने उद्देश्य छ । यसमा राज्यले पनि प्रोत्साहन गर्नुपर्छ,’ पाण्डेले भने ।