प्रदेशमा छैन, सिंहदरबारमा अर्बौंका गाडी अलपत्र


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

प्रदेशका उच्च पदाधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएका छन् । सरकारले सामान्य रूपमा बिग्रिए पनि समयमै मर्मत गर्न नसक्दा अर्बौं मूल्यका गाडी प्रतिदिन बिग्रँदै र थन्किँदै गएका हुन् । सिंहदरबारभित्र विभिन्न मन्त्रालयनजिक तथा सिंहदरबारभित्रकै ग्यारेजमा गरी तीन सयभन्दा बढी गाडी बिग्रिएको अवस्थामा अलपत्र राखिएको गृह मन्त्रालयले जनाएको छ ।

केही दिनअघि प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीस“ग गरेको छलफल कार्यक्रममा सबैजसो मुख्यमन्त्रीले प्रदेशले भोग्नुपरेका मुख्य समस्यामा गाडीको समस्यासमेत रहेको भन्दै तत्काल पूर्ति गर्न माग गरेका थिए । प्रदेशमा गाडीको चरम समस्या भइरहे पनि केन्द्रले सयौं गाडी मर्मत गरेर पठाउनेबारे कुनै गृहकार्य अघि बढाउन सकेको छैन ।

प्रधानमन्त्री कार्यालयले केही महिनाअघि बिग्रिएका गाडी मर्मत गर्न सकिने खालका भए मर्मत गरेर प्रयोगमा ल्याउने र मर्मत हुन नसक्नेलाई लिलामी गर्नुपर्ने भन्दै त्यसका लागि कार्यालयका सचिव प्रेमकुमार राईको नेतृत्वमा प्रक्रिया अघि बढाएको थियो । सचिव राईले विभिन्न कारणले सो कार्य रोकिए पनि अब त्यस्ता गाडीको अवस्थाबारे खोजतलास गरी आवश्यक प्रक्रिया थालिने जानकारी दिए । प्रधानमन्त्री कार्यालयका सचिव राईले वर्षौंदेखि सयौं गाडी त्यत्तिकै राखिएको स्विकार्दै अब तिनको शीघ्र व्यवस्थापन जरुरी रहेको बताए । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com