प्रचण्डको निर्देशनपछि सातदोबाटो चापागाउँ सडकखण्ड हुने भयो, कालोपत्रे


प्रकाशित मिति : चैत्र ९, २०७४ शुक्रबार

चैत ९, ललितपुर । सातदोबाटोदेखि खुमलटारसम्म झन्डै एक किलोमिटर सडकखण्ड कालोपत्रे हुने भएको छ । ठेक्का सम्झौता भएको चार वर्ष बित्दासमेत सडकखण्डको काममा प्रगति नहुँदा स्थानीय जनताले सास्ती खेप्दै आएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाडौंको लाजिम्पाटबाट ललितपुरको खुमलटार हाइटमा बसाई सरेपछि स्थानीयवासीको भावना बुझ्दै सडक तत्काल निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । ठेकेदारले भने विभिन्न बहाना बनाएर आलटाल गर्दै आएकोमा उक्त क्षेत्रका स्थानीय व्यक्तिहरुले अध्यक्ष प्रचण्डलाई सडक तत्काल कालोपत्रे गर्न पहल गरिदिन अनुरोध गरेका थिए ।

अध्यक्ष प्रचण्डले सुनाकोठी, चापागाउँलगायत ललितपुर जिल्लाका थुप्रै गाविस जोड्ने उक्त सडकखण्डको काम सम्झौता अनुरुप अघि नबढ्दा स्थानीय जनताले सास्ती खेप्नु परेको र धुलोका कारण स्वास्थ्य समस्यासमेत देखिएको भन्दै तत्काल काम सम्पन्न गर्न मुख्य सचिव, यातायात सचिव र विभागका निर्देशकसँग छलफल गरेका थिए ।

सोही छलफलका आधारमा ठेकेदारले कालोपत्रे कार्य अघि बढाएको थियो । कालोपत्रे कार्य अघि बढाए पनि ढिला सुस्ती भएपछि प्रचण्ड सचिवालयको पहलमा स्थानीय प्रशासन, स्थानयवासी र ठेकेदारबीच चैत्र १५ गतेभित्र सुरुको खण्डको ५ सय मिटर कालोपत्रे गर्ने र बाँकी सडक खण्ड वैशाख १५ सम्म कालोपत्रे सम्पन्न गर्ने सहमति भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरुको पाँचसय मिटरपछि निकै ठूलो मात्रामा फोहोर फालिएको कारण तत्काल काम अघि बढ्न नसक्ने देखिएपछि प्रचण्ड सचिवालयले फोहोर व्यवस्थापनका लागि समेत महानगरपालिकासँग पहल शुरु गरेको छ । उक्त फोहोरको व्यवस्थापन भएपछि बाँकी खण्डसमेत कालोपत्रे गर्न शुरु गरिने र सबै काम वैशाख १५ भित्र गर्न ठेकेदार पक्ष सहमत भएको छ ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com