कुनै पनि बहानामा कर्मचारीमाथिको हस्तक्षेप काँग्रेसलाई सह्य नहुने-सभापति देउवा


प्रकाशित मिति : चैत्र ४, २०७४ आईतबार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा कर्मचारीमाथिको हस्तक्षेप काँग्रेसलाई सह्य नहुने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियन (संघ)को साताँैं महाधिवेशनको आज रत्ननगरमा उद्घाटन गर्दै सभापति देउवाले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, न्यायपालिकालगायत क्षेत्र स्वतन्त्र हुनुपर्ने बताउनुभयो ।

अहिलेको सरकारले ती निकायमाथि हस्तक्षेप गर्न थालेको उहाँको आरोप थियो ।

“कुनै पनि निकायका विरुद्धमा गरिने हस्तक्षेप र अधिनायकवाद काँगेसलाई स्वीकार्य छैन,” उहाँले भन्नुभयो । त्यस्ता निकाय हस्तक्षेपमुक्त हुनुपर्ने भन्दै सभापति देउवाले भन्नुभयो, “तपाईंहरु ढुक्कसँग स्वतन्त्र रुपमा काम गर्नुहोस्, कसैले तपाईंहरुमाथि हस्तक्षेप गर्न सक्दैन, त्यसका लागि हामी छौँं ।”

कांँग्रेस स्वतन्त्र न्यायपालिका, प्रहरी, सेना र कर्मचारीको पक्षमा रहेको भन्दै उहाँले भन्नुभयो, “काँग्रेसले सरकारमा रहँदा पनि हस्तक्षेप गरेन, अरु कसैले पनि हस्तक्षेप गर्न पाउँदैन ।” स्वतन्त्र न्यायपालिका, मौलिक अधिकारका पक्षमा काँंग्रेस सधैँं रहने उहाँले बताउनुभयो ।

नेपाली जनताले ठूलो संघर्षबाट संविधान प्राप्त गरेको भन्दै उहाँले यसको खिलापमा कोही कसैलाई नलाग्न चेतावनी दिनुभयो ।

मुलुकमा महत्वपूर्ण परिवर्तन काँंग्रेसले नै गरेको भन्दै उहाँले संविधानको कार्यान्वयनमा सहयोग गर्न आफ्नो पार्टी सदैव तयार रहेको बताउनुभयो ।

संविधान कार्यान्वयन भएमा मात्रै मुलुकले निकास पाउने भन्दै उहाँले यसका लागि दत्तचित्त भएर लाग्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै काँंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार स्वेच्छाचारी र सर्वसत्तावादतर्फ जान खोजेको भन्दै अहिले खोजिएको दुई तिहाईभित्र रहस्य लुकेको बताउनुभयो ।

स्पष्ट बहुमत हुँदा हुँदै दुईतिहाईको सौदावाजी चलिरहेको भन्दै उहाँले यसअघि संविधान संशोधन गर्नै हुन्न भन्ने कम्युनिष्ट किन अहिले जे गरेर पनि दुईतिहाई खोजिरहेका छन् ? भन्ने प्रश्न गर्नुभयो ।

विपी कोइराला, गणेशमान सिंह, सूवर्ण शमशेरलगायत नेताले गर्न नसकेको काम पछिल्लो समय काँग्रेसले गरेर देखाएको नेता पौडेलको भनाइ थियो । “पञ्च र राजा फालेर संविधान निर्माण गरी कार्यान्वयनको चरणसम्म ल्याउने काम काँंग्रेसका पछिल्लो समयका नेताले गरेका हुन्,” उहाँले भन्नुभयो ।

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले प्रधानन्यायाधीशको बर्खास्तगी नियम विपरीत भएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले सरकारका काम हेरेर समर्थन र विरोध गर्ने भन्दै प्रतिपक्षमा बसेर महत्वपूर्ण भूमिका पार्टीले निर्वाह गर्ने बताउनुभयो ।

काँंग्रेस कोषाध्यक्ष सीतादेवी यादवले वाम सरकारसँग नडराउन आग्रह गर्दै आफ्नो काम र कर्तव्यमा दृढ भएर लाग्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

काँंग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारकाभन्दा बलियो संविधान भएकाले ९४ प्रतिशत जनताले बनाएको संविधान दुई तिहाई बहुमतबाट तलमाथि गर्ने अधिकार सरकारलाई नभएको बताउनुभयो ।

काँग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधि र कृष्ण सिटौलाले सरकारको मनोमानी काँग्रेसलाई मान्य नहुने भन्दै संगठन सुदृढ गर्नेतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । उक्त अवसरमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेता एनपी साउद, गगन थापा, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलनाथ दाहाल, नेविसंघका अध्यक्ष नैनसिंह महरलगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने उक्त महाधिवेशनमा ५७० प्रतिनिधि र २०० पर्यवेक्षक सहभागी छन् । संघको ७७ जिल्ला समिति र मन्त्रालय तथा विभाग गरी ४६ विभागीय कार्यसमिति रहेका छन् भने २८ हजार पाँच सय सदस्य छन् ।

महाधिवेशनले संघीय संरचनाअनुसारको विधान अनुमोदन गर्दै ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने संघका अध्यक्ष सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com