कृषि क्रान्तिबाटै आर्थिक समृद्धि : कृषिमन्त्री साह


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

प्रदेश नं २ सरकारका कृषि सहकारी तथा भूमि व्यवस्थापन मन्त्री शैलेन्द्रप्रसाद साहलाई नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आज सम्मान गरेको छ ।

पत्रकार महासंघका सदस्यसमेत रहनुभएका मन्त्री साहलाई पत्रकार महासंघ सप्तरीले एक कार्यक्रमकाबीच उहाँलाई सम्मान गरेको हो ।

सम्मान ग्रहण गर्दै मन्त्री साहले मोफसलका पत्रकारको समस्यासँग आफू परिचित रहेको बताउँदै पत्रकारका समस्यालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मुलुकलाई कृषिप्रधान देश भनिए पनि विगतका सरकारले कृषिमा लगानी नगरेका कारण कृषि पेशा पछाडि पर्दै गएको उहाँले बताउनुभयो ।

प्रदेश नं २ मा कृषिलाई राम्रो बनाउने बताउँदै कृषि क्रान्तिबाटै आर्थिक समृद्धि हुने भएकाले कृषिलाई सम्मानित पेशाका रुपमा स्थापित गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

मधेशको ८० प्रतिशतभन्दा बढी उब्जाउ जमिनमा सिँचाइ नपुगेको बताउँदै उहाँले आफ्नो ध्यान यसतर्फ पनि रहने उल्लेख गर्नुभयो ।

मधेश आन्दोलनको जगबाट संघीयता स्थापित भएको बताउँदै संघीयताको सफलता र असफलता प्रदेश नं २ मै निर्भर रहेको उहाँले बताउनुभयो ।रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com