जथाभावी स्काईभेटर प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन्


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

फागुन १८, रौतहट, । रौतहटको चाँदी नदीमा जथाभावी स्काईभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन भइरहेको छ ।

अनुमति विना नै संचालन गरिएको स्काभेटरबाट दैनिक एक सयभन्दा बढी ट्रयाक्टर गिट्टी उत्खनन गरेर नीजि प्रयोगमा ल्याइने गरिएको छ । राजमार्गभन्दा उत्तरतर्फको चुरेको फेदीबाट नै खोलामा स्काभेटर प्रयोग गरिएको छ ।

स्काभेटर संचालन गर्न प्रहरी प्रशासन, जिल्ला वन कार्यालयका कर्मचारीसहितको मिलोमतो रहेको स्थानीयले आशंका गरेका छन् ।

स्काभेटर प्रयोग गरेर खोलाबाट जथाभावी उत्खनन गरिएको गिट्टी निजी जमिनमा थुपारिएको छ । नदीको बहाव नै परिवर्तन हुने गरी स्काभेटर प्रयोग भइरहँदासमेत नियन्त्रण गर्नेतर्फ कसैको पनि चासो देखिँदैन ।

राष्ट्रपति चुरेसंरक्षण कार्यक्रम लागू भएदेखि नै राजमार्गभन्दा उत्तर चुरेको फेदीका खोलामा स्काभेटर प्रयोग गर्न निषेध गरिएको भए पनि अहिले होली पर्वको मौका छोपेर स्काभेटर प्रयोग गरिएको छ ।

स्थानीय प्रहरी प्रशासनले सडक, पुल, बाटो बनाउन भने नदीजन्य पदार्थ निकासीमा रोक लगाउने गरेको छ तर निजी प्रयोगलाई भने निर्वाधरुपमा चुरेफेदी मै स्काभेटर प्रयोग गर्न दिएको पाइएको छ ।

प्राकृतिक सम्पदाको स्वरुप नै परिवर्तन हुने गरी भइरहेको जथाभावी नदीजन्य पदार्थको उत्खननले संकट निम्त्याउने देखिन्छ । बर्सेनि आउने चाँदी नदीको बाढीले बस्तीतिर कटान गरिरहेको अवस्थामा समेत पानीको बहाव नै परिवर्तन हुने गरी उत्खनन् भइरहनु दुःखद् रहेको स्थानीयको भनाइ छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com