सोमबारसम्ममा मन्त्रिपरिषदले पूर्णता पाउने-दाहाल


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबारसम्ममा मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको छ । उहाँले सरकारले पूर्णता पाएसंगै विकास निर्माणले गति लिने विश्वास पनि व्यक्त गर्नुभयो ।

रौतहटको गुजरा नगरपालिका अन्तर्गत जंगलसैयामा आईतबार आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष दाहालले नेपालको ईतिहासमा दुई तिहाई वहुमुतले कम्युनिष्ट सरकार बनिसकेको र सरकारको लक्ष्य सुशासन, विकास र समृद्धि कायम गर्नु रहेको प्रष्ट पार्नुभयो ।

मधेशका जनताले दिएको विश्वास र प्रेमलाई कदर गर्दै अव राज्य, पार्टी र सरकारबाट विकास दिने बेला आएको उहाँको भनाई थियो । उहाँले मन्त्रिपरिषदको विस्तार र सरकारका प्राथमिकताका बारेमा आइतबार नै प्रधानमन्त्री केपी ओलीसंग छलफल गरी निष्कर्षमा पुग्ने समेत बताउनुभयो ।

दाहाल दाहालले आईतबार रौतहटको गुजरा नगरपालिका जंगलसैया धन्सार सडकको समेत उद्घाटन गर्नुभएको छ ।

पूर्व मन्त्री प्रभु साहको पहलमा स्थानीयले जनश्रमदानबाट उक्त ११ किलोमिटर सडक निर्माण गरेका हुन् । २०५३ सालमा सरकारी स्तरमा ट्रयाक खोलेर निर्माण सुरु भएपनि काम अघि नबढेको उक्त सडक माओबादीको अगुुवाईमा र स्थानीयको सक्रितामा निर्माण भएको हो ।

कुल २ करोडको लागतमा निर्माणको भएको सो सडकको लम्वाई १४ किलोमिटर र चौडाई १२ मिटर रहेको छ । विधायक कुन्दन कुशवाह र नागेन्द्र यादवको व्यवस्थापनमा सडक बचाऔ अभियान अन्तर्गत निर्माण गरिएको जनाईएको छ ।

सडक निर्माणभए सँगै सो क्षेत्रका ४ वटा नगरपालिकाका जनतालाई बाराको निजगढ र पथलैया जान सहज भएको छ । यसैबीच सडक उद्घाटन गर्न पुग्नुभएका पूर्व प्रधानमन्त्री दाहाललाई ५५ किलोको माला लगाएर स्वागत गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com