एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन


प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार

यस वर्ष रु एक अर्ब ६२ करोड ७८ लाख ५७ हजार मूल्य बराबरको एक लाख १६ हजार २७५ मेट्रिक टन आलु बारामा उत्पादन भएको छ ।

मौसम अनकूल र बोटमा रोग नलागेपछि यस वर्ष आलु उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष बाराका कृषकले कूल सात हजार ४७ हेक्टर क्षेत्रफलमा सी ४० र खुमलटार रातो जातको आलु लगाएको थियो । प्रतिहेक्टर १६ दशमलव ५ मेट्रिक टनका दर आलु उत्पादन भएको छ ।

जिल्लाको हरिहरपुर, गोलगंगा, अमृतजंज, देवापुर, भगवानपुर, विदुरवती, बरीयारपुर र मटिअर्वा आलुखेतीको पकेट क्षेत्र भए पनि जिल्लाको सबै क्षेत्रका कृषकले आलुखेती गर्ने गरिन्छ ।

यहाँ उत्पादित आलुमध्ये करिब ३० प्रतिशत जिल्लास्थित कोल्ड स्टोरमा भण्डारण गर्ने गरेको छ । बाँकी आलु जिल्लाभित्र खपत हुने र केहि छिमेकी जिल्लामासमेत निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालयका राजबेँसीप्रसाद चौधरीले जनाएको छ ।

आर्थिक वर्ष ०७३÷०७४ मा रु एक अर्ब ५८ करोड ५१ लाख २५ हजार मूल्य बराबरको आलु उत्पादन भएको थियो ।

गत वर्ष ७०÷७५ हेक्टर क्षेत्रफलमा लगाइएको आलुखेतीबाट प्रतिहेक्टर १५ मेट्रिक टनका दर उत्पादन भई जिल्लामा कूल एक लाख पाँच हजार ६७५ मेट्रिक टन आलु उत्पादन भएको थियो । जिल्लामा उत्पादित आलु अहिले कलैया बजारमा प्रतिकेजी रु १५ देखि २० मा बिक्री भइरहेको छ ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com