ओली सरकारमा १८ वटा मन्त्रालय, माओवादीले माग्यो गृहसहित ७ मन्त्रालय


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

केपी ओली नेतृत्वको सरकारमा प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने भएका छन् । तर, सत्तारुढ एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने अझै टुंगिएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार मन्त्रालयको संख्याबारे छलफल भएको थियो । दुई नेताले आफूहरुको छलफल नटुंगिएको र भोलि थप कुराकानी गर्ने आफ्ना निकतवर्तीहरुलाई बताएका छन् ।

माओवादीका एक नेताले अनलाइनखबरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्न दुई नेतावीच सहमति भएको छ ।

हाल ३० मन्त्रालय छन् । तर, संविधानमा नै केन्द्र सरकार बढीमा २५ सदस्यीय हुने भन्ने उल्लेख भएकाले मन्त्रालयको संख्या घटाउनुपर्ने भएको छ ।

संघीय प्रशासनिक पुनःसंरचना समितिले १८ मन्त्रालय बनाउन सिफारिस गरेको थियो भने काशिराज दाहाल नेतृत्वको समितिले १५ मन्त्रालय राख्न सिफारिस गरेको थियो ।

दाहालको सिफारिस अनुसार अघिल्लो सरकारले १५ मन्त्रालय रहने प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेको थियो ।

माओवादीले माग्यो गृहसहित ७ मन्त्रालय

यसैवीच माओवादीले ओली सरकारमा उपप्रधानमन्त्री र गृहसहित कम्तिमा ७ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ ।

गृह र भौतिक पूर्वाधार मन्त्रालय आफूले लिने माओवादीको योजना छ । पर्यटन मन्त्रालयमा पनि माओवादीको दाबी छ ।

अर्थमन्त्रालय आफूले राखेपछि माओवादीलाई गृह दिन एमाले सकारात्मक रहेको नेताहरुले बताएका छन् । तर, अरु मन्त्रालयको भागवण्डा मिलेको छैन ।

साथै एमालेले संघीय फोरमलाई सरकारमा सहभागी गराउन चाहेकाले मन्त्रालय भागवण्डा लम्बिएको नेताहरु बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com