एमाले-माओवादीले ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम राख्न नपाउने-निर्वाचन आयोग


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

नेकपा एमाले र माओवादी केन्द्रले सहमती भएपछि राख्ने भनेर रोजेको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ पहिला नै निर्वाचन आयोगमा दर्ता भईसकेको भेटिएको छ ।

ऋषिराम कट्टेल अध्यक्ष रहेको ‘नेपाल कम्युनिष्ट पार्टी’ गत मंसिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’ चिन्ह लिएर सहभागी भएको थियो । आयोगका कानुन शाखाका अधिकृत घमचन्द्र तिम्सिनाका अनुसार नेपाल कम्युनिष्ट पार्टी २०४८ साल अघि देखि नै निर्वाचन आयोगमा दर्ता भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको नाम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पनि दाबी गर्दै आएको छ तर चन्दले आयोगमा दल दर्ता भने गराएका छैनन् । आयोगले पहिला नै सोही नाममा अर्को दल दर्ता भएको अवस्थामा नयाँ दल सोही नाममा दर्ता गर्न नमिल्ने बताएको छ ।

२०७३ स्थानीय तह निर्वाचनमा सहभागिताका लागि आयोगले दल दर्ता आव्हान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टीले आवेदन दिएको थियो । त्यतिबेला पनि आयोगले ३९ नम्बरमा नेपाल कम्युनिष्ट पार्टीको सूची प्रकाशित गरिदिएको थियो।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को १(ङ)मा दलको नाम वा चिन्ह आयोगमा दर्ता भईसकेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर अब एउटै कम्युनिस्ट पार्टी बनाउने एकीकृत पार्टीको नाम कम्युनिस्ट पार्टी राख्ने सहमतिमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति ११ बजेसम्म चलेको एकता संयोजन समिति बैठकले यस्तो निर्णय गरेको हो । दुवै दलका अध्यक्षसहित आठ जनाले पार्टी एकता गर्ने सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार एकीकृत पार्टीको निर्देशक सिद्धान्त ‘मार्क्सवाद र लेनिनवाद’ रहनेछ । अव नेकपा एमाले र माओवादीले पपनि अर्को नयाँ नाम राख्नुपर्ने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com