के पी ओली नेतृत्वको सरकारमा मन्त्रिमण्डल यस्तो हुँदै


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले दौडधुप तीब्र पारेका छन् । प्रधानमन्त्री ओलीले बुधवार मन्त्रिमण्डल विस्तारको तयारी गरेका एमाले नेताहरुले बताएका छन् ।

गएको बिहीवार शथप लिएका प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए । मन्त्रीका लागि आकाक्षी धेरै भएपछि एमालेमा भागवण्डा मिलाउन कठिन परेको छ ।

अर्थमन्त्रीका लागि धेरै आकांक्षी देखिएका छन् । महासचिव इश्वर पोखरेलदेखि उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीले अर्थमन्त्रालयमा रुची देखाएका छन् । यसअतिरिक्त पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि अर्थमन्त्री बन्न रुची देखाएका एमाले स्रोत बताउँछ ।

मंगलवार राष्ट्रिय सभाको सदस्य मनोनित युवराज खतिवडाको पनि मन्त्री बन्ने चर्चा छ ।

ओली पहिलो पटक प्रधानमन्त्री बनेको समयमा पौडेल अर्थमन्त्री थिए । मन्त्रीका लागि प्रदेश नम्बर १ बाट सचिव योगेश भट्टराइको चर्चा छ । उनी ताप्लेजुङबाट विजयी भएका थिए । मन्त्री बनेका लालबाबु पनि प्रदेश नम्बर १ का हुन्, उनी मधेसी समुदायका नेता पनि हुन् । प्रदेश नम्बर २ बाट रघुवीर महासेठको मन्त्री बन्ने चर्चा छ ।

प्रदेश नम्बर ३ बाट महासचिव इश्वर पोखरेल मन्त्री बन्ने लगभग निश्चित रहेको एमाले स्रोत बताउँछ । भक्तपुरबाट निर्वाचित महेश बस्नेत, काभ्रेका गोकुल बास्कोटा र सिंन्धुपाल्चोकका शेरबहादुर तामाङको पनि चर्चा छ । तामाङ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेरलाई पराजीत गरेर दोस्रो पटक सांसद बनेका हुन् ।

प्रदेश नम्बर ४ बाट युवा नेता रवीन्द्र अधिकारीलाई मन्त्री बनाउने चर्चा एमाले भित्र छ । उनी २०६४, ०७० र ०७४ का तीनवटै चुनावमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमाले नेतृत्वले अधिकारीलाई मन्त्री बनाउने आश्वासन दिएको स्रोतको दावी छ । प्रदेश ४ बाटै कांग्रेसका रामचन्द्र पौडेललाई पराजित गर्ने किशान श्रेष्ठ, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्ने पद्मा अर्यालको नाम पनि चर्चा छ ।

प्रदेश नम्बर ५ बाट उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली मन्त्री बन्ने पक्का जस्तै छ । पौडेल र ज्ञवालीमध्ये एकले अर्थमन्त्रालयको जिम्मा पाउने सम्भावना छ । यस्तै प्रदेश ५ बाटै शान्ता चौधरीको नाम पनि चर्चामा छ । प्रदेश नम्बर ७ बाट उपाध्यक्ष भीम रावल र कांग्रेस नेत्री डा आरजु राणा देउवालाई पराजीत गर्ने नारदमुनी रानाको चर्चा छ ।

थारु समुदायको प्रतिनिधित्व गराउन नारदमुनी या शान्ताको नाम चर्चामा छ । माओवादी केन्द्रमा पनि मन्त्री बन्ने आकांक्षी धेरै देखिएका छन् । राष्ट्रिय सभाको अध्यक्षको रुपमा चर्चा गरिएका रामबहादुर थापा ‘बादल’देखि बर्षमान पुनको नेतृत्वमा सरकारमा जाने चर्चा छ । थापा २०६५ सालमा बनेको माओवादी सरकारमा रक्षा मन्त्री थिए ।

माओवादीका तर्फबाट मात्रिका यादव, पम्फा भुसाल र देवेन्द्र पौडेल सरकारमा सहभागी हुने पक्का जस्तै भएको छ । केही समय नयाँ शक्ति पार्टीमा गएका पौडेल अहिलेसम्म लाभको पदमा पुगेका छैनन् । माओवादीले पाउने मन्त्रालयको संख्याका आधारमा चन्द्र प्रकाश खनाल, शक्ति बस्नेत, लेखराज भट्ट सम्मको चर्चा छ । खनाल यसअघि प्रचण्ड प्रधानमन्त्री रहँदा राजनीतिक सल्लाहकार थिए ।

प्रदेश नम्बर १ बाट कांग्रेस नेता महेश आचार्यलाई पराजित गरेका अमनलाल मोदी, प्रदेश २ बाट मात्रिका, प्रदेश ३ बाट पम्फा, प्रदेश ४ बाट देवेन्द्र, प्रदेश ५ बाट चन्द्रप्रकाश, ६ बाट शक्ति र ७ बाट लेखराजको नाम चर्चामा छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार चितवनको भरतपुरमा पत्रकारहरुसंग कुरागर्दै बुधवार नै मन्त्रिमण्डल विस्तार हुने बताएका थिए । काठमाडौंमा भएको कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले पनि बुधवार मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । -लोकान्तर बाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com