नेपाल वायुसेवा निगम: चार जहाज, तीन पाइलट


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

केदार ।दाहाल नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाई–१२ ई जहाज मंगलबार काठमाडौंमा अवतरण गरेको छ । यसअघि नेपाल भित्र्याएको चारवटा चिनियाँ जहाजको उडानमा वार्षिक करोडौं घाटा बेहोरिरहेको निगमले पुनः दुईवटा यस्तै जहाज ल्याएको छ ।

चारवटा जहाजका लागि कम्तीमा ८ जना क्याप्टेन आवश्यक भए पनि हाल निगमसँग ४ वटा वाई–१२ ई जहाजका लागि ३ जनामात्र क्याप्टेन छन् । जहाज सेड्युल उडानको लागि चार जहाजका लागि कम्तीमा पनि ८ जना क्याप्टेन चाहिन्छ । चिनियाँ जहाजको मुख्य समस्या नै जनशक्ति अभाव हुँदै आएको छ । निगमले भने तत्काल यस्तो समस्या देखिए पनि चाँडै जनशक्ति व्यवस्थापन हुने दाबी गरेको छ । “चीनबाट छिट्टै ३ जना क्याप्टेन ल्याउँदैछौं, त्यसपछि वाई–१२ ई ले राम्रो उडान गर्ने अपेक्षा छ,” निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । चिनियाँ पक्षले स्पेयर्स पार्ट्स र पाइलटको समस्या समाधान गर्ने प्रतिबद्धतापछि थप जहाज ल्याइएको कंसाकारले बताए ।

दुईथान जहाजसँगै निगमसँग अव चिनियाँ जहाज ६ थान र ट्वीनटर ३ थान गरी आन्तरिक उडानकै लागि ९ वटा जहाज पुगेका छन् । निगमले धमाधम चिनियाँ जहाज ल्याए पनि पाइलट तथा स्पेयर्सपार्ट्स अभावका कारण प्रत्येक वर्ष घाटा बेहोर्दै आएको छ । निगमसँग अब ५६ सिट क्षमताका २ थान एमए–६० र १७ सिट क्षमताको ४ थान वाई–१२ जहाज छन् । निगमले हाल एमए–६० ले राम्रो बिजनेस गरेको भए पनि वाइ–१२ ई भने पाइलट अभावका कारण महिनौंसम्म पनि ग्राउन्डेड हुँदै आएको छ । चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको वाइ–१२ ई सिरिजका दुईवटा नयाँ विमानको नेपाली दर्ता नम्बर–कलसाइन ९ एन–एक्सयू र ९ एन–एक्सभी रहेको छ ।

आन्तरिक उडानमा एकछत्र बजार हिस्सा लिएका निजी क्षेत्रका एयरलाइन्स कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन भन्ने टड्कारो प्रश्न यतिवेला निगमसमक्ष तेर्सिएको छ । निगमले भएकै चारवटा जहाज उडानमा असन्तुष्ट भइरहेको भए पनि बाध्यत्मक व्यवस्थाका कारण थप दुईथान जहाज ल्याएको हो । विगत चार वर्षदेखि खरिद प्रक्रिया रहेको ६ थान चिनियाँ जहाजमध्ये चारथान हाल सञ्चालनमा छन् ।

दुर्गमका जहाज सुगममा उड्दै
नेपालमा दुर्गम क्षेत्रमा उडान गर्न ल्याइएको वाई १२ ई जहाजले पनि सुगम क्षेत्रमा नै उडान गरिरहेको छ । यसरी दुर्गमका जहाज अझै पनि सुगममै उडान भर्नुपर्ने रहर नभइ बाध्यता रहेको कंसाकार बताउँछन् । जहाज खासगरी हुम्ला, सीमकोटलगायत क्षेत्रमा उडान गर्नेगरी नेपाल ल्याइएको भएपनि हालसम्म निरिक्षण गर्नसमेत चिनियाँले सहयोग गरेको छैन । नेपाल र चीन सरकाबीचको कुटनीतिक सम्बन्धसँगै जहाज खरिद प्रक्रिया जोडिन पुगेपछि सरकार जसरी पनि जहाज ल्याउनैपर्ने बाध्यतामा थियो ।

नेपालले खरिद गर्ने भनेको चिनियाँ जहाज निर्माता कम्पनी एभिक इन्टरनेसनल होल्डिङ कम्पनीले नेपाललाई जहाज दिन ४ वटै जहाज तयार गरिसकेको र ७० प्रतिशत रकमसमेत नेपालले पठाइसकेकोले जहाज जसरी पनि ल्याउनैपर्ने अवस्थामा निगम पुगेको थियो ।
दुईथान जहाज गत वर्ष नै नेपाल ल्याइएको थियो भने त्यसअघि दुईथान जहाज भने चीन सरकारले अनुदानस्वरूप नेपाललाई दिएको थियो । चार थानमध्ये दुई थान जहाज गत वर्ष नै नेपाल ल्याइएको छ । चार वर्ष अगाडि नै चीनले एक एमए–६० र एक वटा वाई–१२ ई जहाज अनुदानमा दिएको थियो ।

चिनियाँ जहाज ६ वटा किन्न ६ अर्व ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋणमा निगमलाई एक्जिम बैंकमार्फत ऋण उपलव्ध गराइएको हो । उक्त रकममध्ये २ अर्ब ९४ करोड १० लाख रुपैयाँ एमए–६० र एउटा वाई–१२ ई अनुदानमा लिन उपयोग गरिने सम्झौता भएको थियो । यस्तै, बाँकी ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँमा एउटा एमए ६० र तीनवटा वाई १२ ई जहाज ऋणमा खरिद गर्ने गरी ४ वर्ष अगाडि नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो ।

चिनियाँ पक्षले स्पेयर्स पार्ट्स र पाइलटको समस्या समाधान गर्न समेत तयार भएको थियो । तर पनि सबै समस्याको समाधान नभएको निगमको भनाइ छ । निगम व्यवस्थापनले, चिनियाँ जहाज उडाउँदा हुने घाटा चिनियाँ पक्षले बेहोर्नुपर्ने, जगेडा सामान १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने, जहाजसम्बद्ध नियम सवै चिनियाँ भाषाको सट्टा अंग्रेजी भाषामा लेखिएको हुनुपर्ने, चालकदलको तालिम खर्च कटौती हुनुपर्ने निगमले बताउँदै आएको थियो ।

बिमा रकम कम हुनुपर्ने एवं जहाजले बोक्ने तौल बढी हुनुपर्ने सर्त पूरा भएमात्र बाँकी जहाज ल्याउने सर्त राखेको थियो । चिनियाँ पक्षले मागमा सकारात्मक भएको बताउँदै आए पनि ठोस उपलब्धी भने हालसम्म भएको छैन ।’

विमानस्थलमा आगलागी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको कार पार्किंङ क्षेत्रमा आगलागी भएर आन्तरिक र अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिएको विमानस्थलले जनाएको छ । मंगलबार कार पार्किङ नजिकै आगलगी हुँदा विमानस्थलबाट हुने उडान तथा अवतरण रोकिन पुगेका हुन् । चुरोट खाएर फाल्दा आगलागी भएको शंका गरेर करिब १५ मिनेट उडान तथा अवतरण रोकिएपछि दमकलले आगो निभाएको छ । आगो नियन्त्रणमा आएसँगै उडान तथा अवतरण सुचारू भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com