मुगुका उच्च भारी हिमाली क्षेत्रमा हिमपात सुरु


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

माघ २९, गमगढी । आइतबार रातिबाट जिल्लाको उच्च हिमाली क्षेत्रमा भारी हिमपात सुरु भएपछि कृषकहरु हर्षित भएका छन्। कृषकले कार्तिक महिनामा आफ्नो खेतबारीमा छरेका हिउँदेबाली जौ र गहुँ बेलैमा हिमपात र पानी नपर्दा खेतमै सुक्न थालेपछि चिन्तित भएका थिए। आइतबार राति जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि कृषकहरु हर्षित भएका हुन्।

कार्तिक महिनामा खेतबारीमा छरेको हिउँदेबाली हिमपात नभएर खेतमै सुक्न थालेकाले चिन्तित भएका कृषक ढिलै भएपनि हिमपात सुरु हुन थालेपछि हिउदे बालीको उत्पादनमा केही राहत हुने र वर्षे बाली रोप्नका लागी खेत जोत्न सहज हुने छाँयानाथ रारा नगरपालिका ४ का बिर्ख रोकायाले बताए।

आइतबार रातिबाट जिल्लाको उच्च हिमाली क्षेत्रमा परेको भारी हिमपातले ग्रामीण भेगका कृषकहरु हर्षित भएको भए पनि आवतजावतमा भने प्रभावित भएको छ।

सबैभन्दा बढी जिल्लाको पूर्वी क्षेत्र मुगम कार्मारोङ्ग गाँउ पालिकाको ९ वटै वडा र खत्याड गाँउपालिका ८ वडा सोरु गाँउपालकाको ८ र छाँयानाथ रारा नगरपालिकाको सदरमुकाम गमगढी बाहेक सबै बस्ती प्रभावित भएको भए पनि हिउँदेबालीको उत्पादनमा हिमपातले राहत पुर्‍याउने भएकाले कृषकहरु हर्षित भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।

अधिकारीका अनुसार मौसमविद् र गृह मन्त्रालयले दिएको जानकारी अनुसार जिल्लाबासीलाई हिमपात अवधिभर र उच्च लेख तथा लामो यात्रा गर्नका लागि सर्तकता रहन समेत सार्वजनिक सूचना गरिएको छ।

सोमबार दिनभर हिमपात भए सडक यातायात तथा हवाई सेवा समेत अवरुद्ध हुनेछ। आइतबार राति जिल्लाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले सोमबार सदरमुकाममा सर्वसाधरणको चहलपहल समेत कम देखिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com