घरेलु र सामाजिक हिंसामा बाँच्दै एकल महिला


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

माघ २९, रोल्पा । श्रीमान्को वैदेशिक रोजगारीमा रहेको बेला खाडीमा निधन भएपछि रोल्पा नगरपालिका–१ की शान्ति विक पनि घरबाट निकालिइन् । श्रीमान् खाने अलच्छिनीको आरोपसहित ८ वर्ष घर सम्हालेर बसेकी उनी घरमा बस्न नपाउने गरी निकालिइन् ।

श्रीमान्को मृत्युपछि सासू–ससुरासँगै बाँकी जीवन जिउने उनको संकल्प पूरा हुन पाएन । ६ वर्षीया छोरी च्यापेर कानुनी लडाइँका लागि अदालत धाइन् । जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई अंश पाउने गरी न्याय दिए पनि परिवारले भने अहिलेसम्म सम्पत्ति त के घरमा बस्नसमेत दिएको छैन । अदालतले दिएको न्याय परिवारले नदिएपछि विरक्तिएर उनी अहिले अर्काको घरमा बस्दै आएकी छिन् ।

ट्र्याक्टर दुर्घटनामा श्रीमान्को मृत्यु भएपछि रोल्पा कोटगाउँकी निरा विक दिनरात घरेलु हिंसाको शिकार भइन् । श्रीमान् छँदै सासूससुरासँग छुट्टिएर बसेको उनको परिवारमा एक छोरीसमेत थिइन् । श्रीमान्को मृत्युपछि दुर्घटना बीमाबापत आएको रकमसमेत उनले बुझ्न पाइनन् । दुखजिलो गरेर जोडेका भाँडाकुँडा, लत्ताकपडासमेत घरबाट निकालेर लगेपछि उनीलाई घरमा बस्न सक्ने वातावरण भएन । न्यायका लागि सदरमुकाम धाइन् । एकल महिला समूहको सहयोगमा अहिले उनी काठमाडौंको एक गार्भेन्टमा काम गर्छिन् । एक छोरीसँग साथमै रहेकी उनी श्रीमान्को मृत्युपछि जन्म दिने माइत र कर्म दिने घरलाई छाडेर धेरै टाढा बस्न बाध्य छिन् ।

मादक पदार्थ सेवन गर्ने श्रीमान्को दिनानु दिनको हिंसा सहन नसकी रोल्पा भावाङकी अञ्जु खत्री श्रीमान्सँग छोडपत्र गरी एक्लै बस्दै आइरहेकी थिइन् । दिनहुँ मादक पदार्थ सेवन गर्ने श्रीमान्को मृत्यु भएपछि उनी सामाजिक हिंसामा पर्न थालिन् । छिमेकीले समेत उनका बारेमा नानाथरी कुरा गर्न थाले । घरेलु हिंसाबाट मुक्त भएकी उनी सामाजिक हिंसाको चपेटामा पर्न थालेपछि गाउँमा बस्न नसक्ने भइन् । जिल्ला सदरमुकाममा घरेलु कामदारका रूपमा काम गरिरहेकी उनी हिंसा पीडित अर्की पात्र हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महिला यसरी नै घरेलु हिंसा र सामाजिक हिंसाको दोहोरो चपेटामा छन् । श्रीमान्को मृत्युपछि उनीहरू नारकीय जीवन जिउन बाध्य भएका छन् । दश वर्ष लामो द्वन्द्वमा देशमै सबभन्दा धेरै मानवीय क्षति भएको रोल्पामा धेरै महिला एकल भएका छन् । रोजगारीका लागि खाडी जाने रोल्पालीको संख्यामा भएको वृद्धि सँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । गरिबीका कारण विदेश जान बाध्य उनीहरू जोखिमपूर्ण काम गर्न समेत बाध्य हुने गरेका छन् । जोखिमपूर्ण काम गर्न बाध्य कैयौँ रोल्पाली लास बनेर फर्किएका कारण एकल हुने महिलाको संख्यासमेत बढिरहेको छ । एकातिर श्रीमान् गुमाएको पीडा अर्कातिर घरेलु हिंसाको यातनाले यहाँका एकल महिलालाई महिला अधिकार र मानव अधिकार आकाशको फल आँखा तरी मर भएको छ । लोकतान्त्रिक गणतन्त्रले समेत आफूहरूलाई छुन नसकेको एकल महिलाले प्रतिक्रिया दिएका छन् ।

पछिल्लो राजनीतिक परिवर्तनमा आफ्ना श्रीमान्ले जीवन बलिदान गरे पनि आफूहरू भने झन् नारकीय जीवन जीउन बाध्य भएको मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले गुनासो गरे । आफूहरू पीडित एकल महिलाका लागि कानुनी लडाइँ लडिरहेको भए पनि त्यो पर्याप्त नभएको उनले बताए । श्रीमतीको मृत्युपछि दोस्रो विवाह गर्ने लोग्ने मान्छेले राज्यले उपलब्ध गराउने राहत पाइरहेको तर एकल महिलालाई भने दोस्रो विवाह गर्ने बित्तिकै राज्यले दिने राहत कटौती गर्ने गरेको प्रति उनले असन्तुष्टि व्यक्त गरे ।

घरको मुख्य मान्छेको मृत्युपछि एकल महिलामा पारिवारिक जिम्मेवारीको बोझ थपिएको बेला घरेलु हिंसाले जीवनलाई निकै कष्टकर बनाइरहेको छ । उनीहरू घरेलु कामदार, जोखिमपूर्ण निर्माण कार्य, होटेलमा भाँडा माझ्ने तथा गिट्टी फोरेर दैनिकी चलाउन बाध्य भएका छन् । रोल्पामा माओवादी युद्धमा श्रीमान् गुमाएका महिलाको संख्या ३२३ जना रहेको छ । यसैगरी अन्य कारणले श्रीमान् गुमाएका महिलाको संख्या जिल्लामा छ हजार ५०० भन्दा बढी रहेको एकल महिलाको क्षेत्रमा काम गर्दै आएको मानव अधिकार तथा कानुनी सेवा केन्द्र रोल्पाले जानकारी दिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com