प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक,१० लाख मत खेर


प्रकाशित मिति : माघ २६, २०७४ शुक्रबार

निर्वाचन आयोगले गएको मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेको छ ।

आयोगका अनुसार ४९ दल मध्य पाँचवटा राजनीतिक दलले मात्र समानुपातिकतर्फ सिट प्राप्त गरेका छन् । तीन प्रतिशत वा त्योभन्दा धेरै मत प्राप्त गरेका ५ वटा दलले मात्र सिट प्राप्त गरेका हुन् । समानुपातिकतर्फ सबैभन्दा धेरै एमालेले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्र, समाजवादी जनता पार्टी, जनजागरण पार्टीले १७, राष्ट्रिय जनता पार्टी नेपाल ६ र संघीय समाजवादी फोरम नेपालले ६ सिट प्राप्त गरेका छन् ।

आयोगले राजनीतिक दलहरुलाई समावेशी समूहको प्रतिनिधित्व हुने गरी नाम सिफारिस गर्न तीन दिनको समय दिएको छ । राजनीतिक दलले आउँदो सोमबारसम्ममा नाम पठाइसक्नुपर्ने र त्यसपछि दुई दिन नाम सच्याउने समय दिएर विजयीको नाम प्रकाशन गरिने प्रवक्ता नवराज ढकालले बताउनुभयो । संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यहि अनुसार नाम सिफारिस गर्न निर्वाचन आयोगलेआग्रह गरेको छ ।

जसअनुसार कम्तिमा ८४ जना महिला को नाम दलहरुले पठाउनैपर्ने छ । बन्दसूचीमा एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र संघीय समाजवादी फोरमले ५ जना महिलाको नाम पठाउनैपर्ने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य चुनाव २०७४ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ वटा दलहले बन्दसूची पेश गरेका थिए ।

बन्दसूची पेश गरेका राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा प्राप्त गरेको कूल सदर मत पन्चान्नब्बे लाख चौवालिस हजार सात सय उनासी रहेको छ ।

सबैभन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३१,७३,४९४ (३३.२५ प्रतिशत) मत प्राप्त गरेको छ । सबैभन्दा कम हाम्रो पार्टीले ४२६ (०.००४५) मत प्राप्त गरेको छ ।तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दल ४४ छन् । सदर मतमध्ये नौ लाख ९६ हजार ७२० मत खेर गएको थियो ।

तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने ५ वटा दलहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), समाजवादी जनता पार्टी/जनजागरण पार्टी, नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल रहेका छन् ।

त्यस्तै निर्वाचन आयोगले शुक्रबार नै प्रेस विज्ञप्ति जारी गर्दै आजबाटै निर्वाचन आचारसंहिताको म्याद सकिएको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com