प्रदेश– १ का मन्त्रालय राख्ने स्थानको लाग्यो टुंगो


प्रकाशित मिति : माघ २०, २०७४ शनिबार

विराटनगर : १ नम्बर प्रदेशका मन्त्रालय राख्ने भवनको टुंगो लागेको छ। प्रदेशका मुख्य सचिव यादवराज कोइराला कार्यक्षेत्र आएसँगै प्रदेशका मन्त्रालय राख्ने भवनको टुंगो लागेको हो।  शुक्रबार साँझ पत्रकारसँग कुराकानी गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मन्त्रालय रहने भवनको टुंगो लगाएको जानकारी दिएका हुन्। टुंगो लगाइएका मन्त्रालयमा मुख्यमन्त्रीको कार्यालय क्षेत्रीय कृषि निर्देशनालयको भवनमा हुनेछ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रणको कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, क्षेत्रीय सिँचाइ निर्देशनालयको कार्यालयमा प्रदेश प्रमुखको कार्यालय, घरेलु तथा साना उद्योगको कार्यालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय, जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा सामाजिक विकास मन्त्रालय, क्षेत्रीय वन निर्देशनालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, क्षेत्रीय पशु सेवा कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेशसभा सचिवालय रहने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए। शुक्रबार बिहान प्रदेशका मुख्य सचिव विराटनगर आएका थिए।

कार्यालय समय सुरु भएसँगै विराटनगरका सरकारी कार्यालयका प्रमुख तथा सुरक्षा निकायका पदाधिकारीको बैठक बसेको थियो। प्रदेश प्रमुख सचिवसहितको टोलीले बैठकलगत्तै मन्त्रालय राख्ने सम्भावित भवनको अनुगमन गरेको थियो। त्यसपछि बसेको बैठकले तत्कालका लागि मन्त्रालय राख्ने भवनको टुंगो लगाएको हो। मन्त्रालयको टुंगो लगाएसँगै आइतबार केही मन्त्रालयको बोर्डसमेत राखिने आचार्यको भनाइ छ।

प्रदेश प्रमुखको कार्यालयमा बोर्ड राखिसकिएको छ भने प्रदेशसभा सचिवालय, मुख्यमन्त्रीको कार्यालय, आन्तरिक मामला तथा कानुन मन्त्रालयको बोर्ड आइतबार राखिने उनले बताए। मन्त्रालय राखिने ती भवनको रङरोगन, मर्मत सम्भार तथा प्राविधिक व्यवस्थापनको तयारी तीब्र भइरहेको छ।

प्रदेशसभाको तयारी तीब्र

माघ २२ गतेको संसद बैठकका लागि तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेशसभास्थल निर्माणको काम पनि सकिन लागेको छ। मुख्य सचिव कोइरालाले संसदका लागि कर्मचारी व्यवस्थापनका काम भइरहेको जानकारी दिए। उनले केही कर्मचारी आइसकेको र केही क्रमिक रूपमा आउने क्रम जारी रहेको बताए। मन्त्रालयहरू मर्ज हुने अवस्थामा रहेकाले पनि कर्मचारी अभाव हुने या काम रोकिने सम्भावना नरहेको उनको भनाइ थियो।

बैठकस्थलको भित्री व्यवस्थापन गरिँदै

प्रदेशसभामा मर्यादापालकको ड्रेस कोड निश्चित गरिएको छ। प्रदेशसभामा महिला र पुरुष गरेर २४ जना मर्यादापालक रहनेछन्।  मर्यादापालक पुरुषले सेतो दौरा–सुरुवाल, कालो कोट र भादगाउँले टोपी लगाउनेछन् भने महिला मर्यादापालकले रातो पारी भएको सेतो सारी, कलेजी रङको चोलो र कालो कोट लगाउनेछन्।

प्रदेशसभाको हलमा १४ जिल्लाको पहिचान झल्कने फोटो राखिने भएको छ। विभिन्न ऐतिहासिक महत्त्वका स्थानको झल्को दिने गरी दुई दुई फिटका फोटो प्रदेशसभा हलभित्र टाँसिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।  यसैगरी प्रदेशसभा सदस्य, पत्रकार, कर्मचारी, आगन्तुक, विशिष्ट व्यक्तिहरू र मर्यादापालकका लागि छुट्टाछुट्टै परिचयपत्रको व्यवस्था गरिएको आचार्यको भनाइ छ। लाइनमा समस्या नहोस् भन्ने उद्देश्यले विद्युतको आवश्यक व्याकअप राखिएको छ।

हलबाहिर खानेपानीको व्यवस्था गरिने भएको छ भने प्राविधिक उपचार कक्ष, लाइभ प्रसारणको तयारी, सीसी क्यामेरा जडानको काम धमाधम भइरहेको छ। प्रदेशसभामा विशिष्ट व्यक्तिहरूको उपस्थितिका लागि पत्राचार गरिने भएको छ। १ नम्बर प्रदेशका सबै प्रतिनिधिसभाका सदस्यहरू, पूर्व सभामुख, पूर्व उपसभामुख, पूर्व मन्त्रीहरू, पूर्व सांसद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखलगायतलाई सभामा उपस्थितिका लागि पत्राचार गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।

संघीयता सफल बनाउन आग्रह

देश संघीयतामा गइसकेपछि यसलाई सफल बनाउन सबै लाग्नुपर्नेमा प्रदेशका मुख्य सचिव कोइरालाले कर्मचारीलाई आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बिहान भएको कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरूसँगको छलफल कार्यक्रममा बोल्दै सचिव कोइरालाले संघीयता सफल हुने वा असफल हुने भन्ने विषय कर्मचारीको हातमा रहेको बताए। उनले सबै कर्मचारीले यो व्यवस्थालाई सफल बनाउन आआफ्नो क्षेत्रबाट लाग्न र उपलब्ध स्रोत साधनको समुचित प्रयोगमा ध्यान दिन आग्रहसमेत गरे।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com