मिर्गौला समस्या , क्यान्सर र स्पाइनल इन्जुरी भएकालाई ५ हजार रुपैयाँ मासिक भत्ता दिने


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

काठमाडौँ – सरकारले मिर्गौला समस्या, क्यान्सर र स्पाइनल इन्जुरी भएका विरामीलाई ५ हजार रुपैयाँ मासिक भत्ता दिने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । अर्थ मन्त्रालयले भत्ता वितरणको स्पष्ट मापदण्ड नभएको भन्दै भत्ता वितरणमा रोक लगाएको हो ।

पुष १३ गतेको मन्त्रिपरिषद बैठकले यस्ता बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन ५ हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको थियो ।

मिर्गौला फेल, क्यान्सर र स्पाइनल इन्जुरी भएका बिरामीको दैनिक जीवनयापन कष्टकर हुने भएकाले जीवन निर्वाहका लागि भत्ताको व्यवस्था गर्ने निर्णय भएको थियो । तर, अर्थले हचुवाको भरमा रकम नदिने भनेपछि स्वास्थ्य मन्त्रालय बल्ल कार्यविधि बनाउन व्यस्त रहेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा यस्ता बिरामीको संख्या लगभग २ लाख जति रहेको जनाएको छ ।

दुई लाखलाई मासिक ५ हजारको दरले भत्ता दिँदा अर्थतन्त्रले धान्न नसक्ने र भत्ता के कस्तो आधारमा दिने भन्ने कार्यविधि तथा मापदण्ड समेत नभएको भन्दै अर्थले स्वास्थ्यको फाइल फर्काइदिएको छ । स्वास्थ्य मन्त्रालयले माघ महिनादेखि नै बिरामीलाई मासिक भत्ता दिने तयारी गरेको थियो । अर्थले कुनै पनि कार्य्विधि नभएको र हचुवाको भरमा रकम दिन नमिल्ने भनेपछि भत्ता वितरण अन्यौलमा परेको छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com