सिमेन्ट र छडमा १५ दिनकै अवधिमा पाँच पटक मूल्यवृद्धि


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

तपाई सिमेन्ट र छड प्रयोग गरेर घर बनाउँदै हुनुहुन्छ ? या बनाउने तयारी गर्दै हुनुहुन्छ ?

यस्तो तयारीमा हुनुहुन्छ भने अब तपाईको लागत बढ्ने र आर्थिक जोहो गर्नुपर्ने छ ।

किनभने, निर्माण व्यवसायीहरूले १५ दिनकै अवधिमा पाँच पटकसम्म मूल्यवृद्धि गरेको पाइएको छ ।

मूल्यवृद्धिसँगै नयाँ घर बनाउने तयारीमा रहेकाहरु मारमा परेका छन् ।

घर निर्माणमा प्रयोग हुने सिमेन्ट, छड लगायत निर्माण सामग्रीको मूल्य हटात बढेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले यसबारे अनुगमन गरेको छ ।

विभागले तयार गरेको अनुगमन प्रतिवेदनले व्यवसायीले अनियमित ढंगले मूल्यवृद्धि गराएको निश्कर्ष निकालेको छ । अध्ययन प्रतिवेदन अनुसार व्यवसायीले १७ प्रतिशतसम्म मूल्य वृद्धि गरेका छन् ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सात प्रतिशतको मूल्यवृद्धि घोषणा गरेर दोब्बरसम्म बढाएको बताए ।

भारत र चीन लगायतका मुलुकबाट आउने कच्चा पदार्थ महंगिएको कारण देखाउँदै करीव एक महिनाअघि निर्माण व्यवसायीहरूले सिमेन्ट र छडको मूल्यवृद्धि गरेका थिए ।

ती निर्माण समाग्रीको अस्वाभाविक मूल्यवृद्धि भएपछि विभागले धादिङका उद्योग र बजारबाट गरिएको मूल्य संकलनका आधारमा प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदनमा सिमेन्टमा ७ देखि १७ प्रतिशतसम्म र फलामे छडमा ५ देखि ९ प्रतिशतसम्म मूल्यवृद्धि गरिएको उल्लेख छ ।

विभागका अनुसार अम्बे सिमेन्टले सबैभन्दा बढी मूल्यवृद्धि गरेको छ ।

थप समाचारको लागी यहाँ क्लिक गर्नुहोला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com