प्रदेशसभा सदस्यहरूद्वारा शपथ ग्रहण


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

प्रदेशसभा सदस्यहरुले आइतवार आआफ्नो प्रदेशको अस्थायी मुकाममा शपथ लिएका छन्।

पहिले प्रदेश प्रमुखले प्रदेशसभा सदस्यमध्ये सबैभन्दा जेठोलाई शपथ खुवाएका थिए।

त्यसपछि ती ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ दिलाएका थिए।

केही प्रदेशमा कतिपय सदस्य शपथ ग्रहणमा सहभागी नभएको विवरण प्राप्त भएका छन्।

केहीमा दलहरुले आफ्नो संसदीय दलको नेता पनि चयन गरिसकेका छन्।

प्रदेशसभा शपथ

प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा शपथ लिंदै प्रदेशसभा सदस्यहरु

विवाद

प्रदेश नम्बर २ मा शपथअघि केहीबेर भाषालाई लिएर विवाद भएको थियो।

नेपाली भाषामा रहेको शपथपत्रमा हस्ताक्षर नगर्ने अडान केही सदस्यले राखेका थिए।

पछि, विभिन्न भाषामा शपथ लिने तर हस्ताक्षर चाहिँ नेपालीमै लेखिएको शपथपत्रमा गर्ने गरी विवाद सुल्झिएको बीबीसीका जनकपुर संवाददाता बृजकुमार यादवले जनाए।

सदस्यहरुले नेपाली, मैथिली, भोजपुरी, हिन्दी लगायतका भाषामा शपथ लिएका थिए।

अनुपस्थिति

प्रदेश ४ मा तनहुँबाट निर्वाचित रामबहादुर गुरूङ र मनाङबाट निर्वाचित राजीव गुरूङ शपथमा अनुपस्थित भएका थिए।

राजीवलाई सर्वोच्च अदालतबाट ज्यान मुद्दामा सजाय सुनाइएको छ।

प्रदेश ५ मा एमालेकी समानुपातिक सदस्य जल्पा भुषाल र राष्ट्रिय जनता पार्टीकी समानुपातिक सदस्य वीना पन्त उपस्थित भएनन्।

आइतवारै बसेको नेकपा एमाले संसदीय दलको बैठकले प्रदेश ५ को संसदीय दलको नेतामा शंकर पोखरेललाई सर्वसम्मत चयन गरेको छ ।

यस क्षेत्रमा एमालेका मात्र ४१ जना प्रदेशसभा सदस्य छन् भने बहुमत पुग्नका लागि अरु ३ जना सांसदको आवश्यकता पर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com