ललितपुरका जनताकै बीचमा छु, झुटा आरोपको डटेर सामना गर्नेछु : सिलवाल


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

काठमाडौं,५ माघ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर १ बाट मंसिर २१ गते सम्पन्न निर्वाचनबाट विजयी नवराज सिलवालले आफूबिरुद्ध राजनीतिक प्रतिशोध साध्न शक्तिको प्रयोग गरिएको आरोप लगाएका छन्।

प्रहरीले देशव्यापी पक्राउ पूर्जी जारी गरेपछि देशबाहिर रहेका भनिएका सिलवालले एविसी न्यूजसंग कुरा गर्दै आफु जनताकै बीचमा ललितपुरमा रहेको समेत जानकारी दिएका छन् ।

सिलवालले एविसी संगको कुराकाकानीमा म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक ज़िम्मेवार नागरिक पनि हुँ। समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको ग़लत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने जुन नौटंकि प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ।’
सर्वोच्च अदालतको बृहत पूर्ण इजलाशले तत्कालिन समयमा संचारमाध्यमबाट बाहिरिएको कार्यसम्पादन मुल्याङकन फाराम किर्ते भएको समन्धमा अनुसन्धान गरी दोषीमाथी कार्वाही गर्न सरकारको नाममा आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि सरकारले महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानको जिम्मा दिएको थियो ।

प्रहरीको अनुसन्धान निष्पक्ष हुन नसक्ने भन्दै सिलवालमा त्यसमा आपत्ती जनाउदै आएका छन् ।
सिलवालले हालका आईजिपी प्रकाश अर्याल आफ्नो विपक्षी भएकाले उनले गरेको अनुसन्धान आफुलाई मान्य नहुने भन्दै छुट्टै अधिकारसम्पन्न छानविन आयोग गठन गर्नुपर्ने बताउंदै आएका छन् ।

काठमाडौं प्रहरीले सिलवाल उपस्थित नभएपनि उक्त विषयमा अनुसन्धान जारी राखेको छ । प्रहरी स्रोतकाअनुसार गत हप्ता मात्रै प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाका एक इन्सपेक्टरको परिसरले बयान लिइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com