राष्ट्रिय सभामा नअटाउने भए वामदेव गौतम,यस्तो छ कारण


प्रकाशित मिति : पुस २९, २०७४ शनिबार

नेकपा एमालेले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार नबनेकालाई मात्र राष्ट्रिय सभामा उम्मेदवार बनाउने भएको छ । केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले तीनवटै तहको निर्वाचनमा उम्मेदवार बनेका राष्ट्रिय सभामा उम्मेदवार बन्न नपाउनेसहितका ६ बुँदे मापदण्ड बनाएको हो । २४ माघमा राष्ट्रिय सभा निर्वाचन हुँदै छ ।

अाजको नयाँ पत्रिकामा खबर छ-कार्यबाहक अध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले आगामी ५ माघसम्म तोकिएको मापदण्डका आधारमा उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा सिफारिस गर्न प्रदेश संगठन कमिटीलाई निर्देशन दिएको छ ।

संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका उम्मेदवार बन्न योग्य रहेको पहिलो र दोस्रो मापदण्ड छन् । त्यस्तै,पार्टीसँगको वैचारिक आबद्धताका आधारमा समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका, भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवार चयन हुने मापदण्डमा उल्लेख छ ।

स्थानीय, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका र समानुपातिक सूचीमा नाम समावेश नभएका मात्र उम्मेदवार सिफारिसका लागि योग्य हुने तथा विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई सिफारिस गर्न सकिने मापदण्डमा भनिएको छ ।

सातवटै प्रदेशमा मतदाता प्रशिक्षण
एमालेले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचकमण्डलका सदस्यलाई प्रशिक्षण दिने भएको छ । एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा सातवटै प्रदेश संगठन कमिटीले प्रशिक्षण दिने व्यवस्था मिलाउने केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com