रानी माहुरीबीच प्रतिस्पर्धा हुँदै, उत्कृष्टलाई ‘सुन्दरी’ को उपाधी


प्रकाशित मिति : आश्विन १३, २०७३ बिहीबार

नेपालमा पहिलोपल्ट वैज्ञानिक मौरी सम्मेलन आयोजना हुने भएको छ । ग्लोबल वार्मिङ (जलवायु परिवर्तनका कारण) ले मौरीको उत्पादकत्वमा परेको प्रभाव र एसियाली मुलुकमा मौरीको व्यसायिकता विषयमा यो सम्मेलन हुने भएको हो ।

हाइल्याण्ड एग्रिकल्चर रिसर्च एण्ड डेभलेपमेन्ट इन्टरप्राइजेज (हार्डेन) को आयोजनामा हुने सम्मेलनमा व्यवसायिक किट विकास निर्देशनालयको विशेष सहयोग रहने आयोजक समितिले जनाएको छ । उक्त सम्मेलन आगामी कात्तिक ७ गतेदेखि हायात रेजीन्सी होटेलमा आयोजना हुनेछ । हार्डेनले बिहिबार राजधानीस्थित कृषि उपभोक्ता डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो ।

एसियन एपिकल्चरल एसोसियसनका अध्यक्ष प्रा. डा. सिरिवात वोङ्स्रिीलगायत विभिन्न एसियाली मौरी विज्ञहरुको सहभागिता रहनेछ । हार्डेनका अध्यक्ष प्रो डा. रत्न थापाकाअनुसार एसियाली मुलुकमा ग्लोबल वार्मिङले मौरीमा पारेको प्रभाव, मह उत्पादकत्व वृद्धि र अन्तर्राष्ट्रिय मापदण्डबमोजिम गुणस्तरीय मह उत्पादन विषयमा सम्मेलन केन्द्रित हुनेछ । थापा माहुरी बिषयमा थाइल्याण्डबाट पिएचडी गरेका छन् । माहुरीसम्बन्धी बैज्ञानिक एक मात्र बैज्ञानिक थापा हुन् ।

रुखविरुवाको विनाशसँगै मौरीको ह्रास भइरहेको छ । यस्तै बिषादी, विभिन्न प्रकारका रोग र चरण क्षेत्र र आहाराको अभावमा माहुरीको बिनाश भइरहेको छ । यसैगरी माहुरीले परागसेचन नगरेमा खाद्यान्न, फलफूल, दलहन, तेलहन, तरकारीलगायतको उत्पादन पनि नहुने बिज्ञले औल्याएका छन् । खाद्यान्नको परागसेचन ९५ प्रतिशत माहुरीबाट हुने गरेको छ । माहुरीको बिनाशका कारण मानिसको जीवन अप्ठ्यारोमा पर्दै गएको डा. थापाले भने । किनकी, वनस्पति विनाश, मौरीको जीवन र मानवीय जीवनचर्या अन्तरसम्बन्धित छन् । वैज्ञानिक अल्वर्ट आइन्सटाइनले पृथ्वीबाट मौरी लोप भएको खण्डमा त्यसको चार वर्षपछि सम्पूर्ण मानव जगत लोपोन्मुख हुने बताएका थिए, जसको तार्किक विश्लेषण सम्मेलनमा विज्ञहरुले पनि गर्नेछन् ।

त्यसैले खाद्य सुरक्षा र पर्यावरण संरक्षणको लागि पनि मौरी संरक्षण हुनु अति आवश्यक छ । यी विषयमा विस्तृत रुपमा चीन, फिलिपिन्स, कोरिया, भारत, अमेरिका, अस्ट्रे«लिया, थाइल्याण्ड, जर्मनीलगायत मुलुकका २० जना माहुरी, वातावरण र कृषिसम्बन्धि वैज्ञानिकहरुले कार्यपत्र पेश गर्नेछन् । यो सम्मेलनमा अहिलेसम्म कतै नभएको मौरी रानी प्रतियोगितासमेत हुनेछ । मिस नेपाल क्वीन बी र हनि प्रिन्सेस कन्टेस्ट नाम दिइएको यस प्रतियोगितामा रानी मौरीवीच प्रतिस्पर्धा गराइनेछ ।

सम्मेलनमा माहुरी, घार, प्राविधिक उपकरण, फोटो प्रदर्शनी, प्राविधिक सल्लाहसहितको स्टंलको समेत व्यवस्था गरिने छ । सम्मेलन अवधिमा मौरीजन्य स्टल सञ्चालन तथा मौरी विज्ञ, किसान र सञ्चारकर्मीेलाई सम्मान गरिने कार्यक्रम रहेको आयोजकले बताएका छन् ।

विश्वमा ९ प्रकारको मौरी पाइन्छ, जसमध्ये ४ वटा प्रजाति नेपालमै पाइन्छ । नेपालमा १५ हजार वटा भीर मौरीको गोला र एक लाख वटा व्यवसायिक एसियाली प्रजातिका मौरी घार रहेको अध्ययनले बताएको छ । नेपाली घरपालुवा मौरी(सेरेना) जातको मौरीबाट सात लाख किलो र विकासे मौरी(मेलिफेरा) जातको मौरीबाट १७ लाख ५० हजार किलो बार्षिक रुपमा मह उ्रत्पादन हुँदै आएको छ । अध्ययन अनुसार घट्दो वन सम्पदा र वातावरणीय विनाशसँगै भीर मौरीको गोला नासिने क्रम जारी छ, जुन अनुपात बढ्दै गएमा पाँच वर्षभित्र नेपालमा भीर मौरी गोला नाश हुने खतरा छ ।

नेपालमा मौरीको व्यवसायिक उत्पादनको राम्रो सम्भावना छ । तर खेतबारी र वनस्पतिमा विषादि तथा एन्टिवायोटिकहरु अनियन्त्रित रुपमा प्रयोग भइरहेकोले मह उत्पादन संकटमा परेको छ । यसले गर्दा महको अन्तर्राष्ट्रिय माग भएपनि नेपाली महले निर्यात बजारमा प्रवेश पाउन समस्या भोगिरहेको आयोजक समितिका अध्यक्ष प्रा.डा. रत्न थापाले बताएका छन् । ‘हाम्रो सम्मेलन यस्तै चुनौती र सम्भावनाको विषयमा मन्थन गर्दै सञ्चालन हुनेछ’ उनले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com