स्थानीय न्यायिक समितिको संयोजकमा उमा


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

–महिला खबर–

नेपालगञ्ज । स्थानीय तहमा न्याय सम्पादन गर्दा आई पर्ने समस्या समाधान गर्न बाँकेका जनप्रतिनिधि संगठित भएका छन् ।

बाँकेका ८ वटै स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष औपचारिक रुपमा एक जुट भएका हु्न् ।

नेपालको संविधानले स्थानीय तह अन्तर्गत उपप्रमुख र उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी दिएको छ । न्यायिक समितिका तर्फबाट सो जिम्मेवारी न्यायपुर्ण रुपमा सम्पादन गर्न, सम्भावित समस्यामा सम्वाद थाल्न र निकास खोज्न उपप्रमुख र उपाध्यक्ष संगठित भएका हुन् ।

कोहलपुर नगरपालिकाको आतिथ्यतामा भएको भेलाले स्थानीय न्यायिक समिति संघ गठन गरेको हो । नेपालगन्ज उप–महानगरपालिका उपप्रमुख उमा थापामगर संयोजकत्वको स्थानीय न्यायिक समिति संघमा बैजनाथ गाउपालिकाका उपाध्यक्ष शारदा रेग्मी बिक सदस्य सचिव रहेकी छन् ।

संघको सदस्यहरूमा कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरी, खजुरा गाउँपलिकाका उपाध्यक्ष एकमाया बिक, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, डुडुवा गाउँपालिकाका उपाध्यक्ष साहिदा बानो, जानकी गाउँपालिकाका उपाध्यक्ष भुमिसरा धिताल, नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती श्रीवास्तव रहेकी छन् ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटवहादुर रावतले जनताका सहज न्यायका लागि जनप्रतिनिधिमा न्याययिक दक्षता हुन जरुरी हेको उल्लेख गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उपप्रमुख र उपाध्यक्षका लागि आवश्यक तालिमको व्यवस्थाका लागि स्थानीय तहमा आवश्यक पहल गर्ने, हरेक महिना नियमित वैठक बस्ने लगायतका निर्णय गरिएको संघका संयोजक एवं नेपालगन्ज उप–महानगरपालिका उपप्रमुख थापामगरले जानकारी दिईन ।

उपप्रमुख थापामगरका अनुसार आगामी बैठक अर्को महिना नेपालगन्ज उप–महानगरपालिकाको आतिथ्यतामा बस्ने तय भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com