सिड्नी अन्तर्राष्ट्रिय विमानस्थल भित्र एम्बुलेन्स आउनै आधा घण्टा, नेपाली अभिभावकको मृत्यु


प्रकाशित मिति : पुस २१, २०७४ शुक्रबार

सिड्नी । सिड्नी अन्तर्राष्ट्रिय विमानस्थल अष्ट्रेलियाकै व्यस्त विमानस्थल हो । विश्वको तेह्रौं अर्थतन्त्र र तीव्र गतिमा विकाशको मार्गमा अघि बढेको यो राष्ट्रमा आकस्मिक सेवाहरु निकै छिटो उपलब्ध हुने विश्वास लिइन्छ । तर हालै सिड्नीको किंसफोर्ड स्मिथ अन्तर्राष्ट्रिय विमानस्थलभित्रै आकस्मिक सेवाका लागि पीडितले करिब आधा घण्टा कुर्नपरेको छ ।

कुरा हो अघिल्लो हप्ताको । नेपाल काठमाडौं मुलपानीकी एक अभिभावक आफ्नो छोराको दिक्षन्त समारोहमा सहभागी हुन छोरासँगै अष्ट्रेलिया उडेकी थिईन् । करिब १२ घण्टाको उडान पार गरेर अष्ट्रेलिया उत्रेकी ति महिलालाई विमान अवतरण गरेपछि निकै रिंगटा लाग्यो र वान्ता लाग्ला जस्तो भयो । उनले आफु अस्वस्थ महसुस गरेको कुरा छोरालाई सुनाईन् । आमा अकस्मात विरामी परेपछि छोरा विमानस्थलभित्रै आकस्मिक सेवाका लागि यत्र तत्र भौतारिए, तर विडम्बना बिरामी बोक्ने एमबुलेन्स आइपुग्न करिब आधा घण्टा लाग्यो ।

एमबुलेन्स आइपुगेपछि तत्काल अस्पताल पुर्याइएकी उक्त महिलालाई अस्पतालले तत्काल मृत घोषणा गर्यो ।

मृतकका एक आफन्तले नेपालीपत्रसँग कुरा गर्दै भने, ‘विकशित देशमा छोराको सफलता हेर्न आएकी उहाँले अकालमै मृत्युवरण गर्नुपर्यो । एमबुलेन्स समयमै आइपुगेको भए बाँच्नुहुन्थयो होला । तर उहाँ आपतकालिन् समयमा आधारभुत सेवा पनि नपाई बित्नुभयो ।’

हुन त अष्ट्रेलियामा कुनैपनि आकस्मिक सेवा पाँच मिनेटभित्रै उपलब्ध हुन्छन् । तर अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील ठाउँमा किन यस्तो हुन पुग्यो, कसैसँग जवाफ छैन ।

मृतकको शब अहिले सिड्नीको ग्लीबस्थित शवगृहमा राखिएको छ । परिवारले पोष्टमार्टम नगर्ने भनेकाले मृतकको शव नेपाल नै पुर्याएर दाहा संस्कार गर्ने तयारीमा परिवार जुटेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com