विवादमा रहेको रानीपोखरीको उत्खनन


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

रानीपोखरीको पुनः निर्माण थाल्नुअघि सर्वसाधारणसँग सुझाव माग्दै उत्खनन गर्नुपर्ने विज्ञहरुले सुझाव दिनुभएको छ ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह बनाइएको थियो । आज पहिलो पटक बसेको उक्त समूहले सर्वसाधारणसँग पनि सुझाव मागेर थप काम गर्नुपर्ने समूहका संयोजकसमेत रहनुभएका काठमाडौँ महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो ।

विवादमा रहेको रानीपोखरी पुनः निर्माणका लागि गत बिहीबार प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय गर्दै विज्ञ समूह निर्माण गरिएको थियो । रानीपोखरी पुनः निर्माणबारे सर्वसाधारणसँग विचार लिनका लागि भोलि सूचना निकालिने र सूचना पाँच दिनका लागि रहने पनि शर्माले बताउनुभयो ।

विसं २०७२ को भूकम्पले पूर्ण रुपमा ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा क्षति पुगेको थियो । क्षतिग्रस्त पोखरी पुनः निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि कङ्क्रिट हालेको भन्दै सम्पदाविद्ले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com