स्थानीय चुनाव १२ वर्षमा ११ पटक स्थगित


प्रकाशित मिति : आश्विन ९, २०७३ आईतबार

राजनीतिक दलहरूले ०६० यता १० पटक स्थानीय निकायको निर्वाचन गर्न लिखित प्रतिबद्धता जनाएका छन् । तर, अहिलेसम्म चुनाव गराउन असफल भएका छन् । दलीय सहमतिबाहेक अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ मा पनि स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ । तर, १२ वर्षमा १० पटक भएका सहमति अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । अहिले स्थानीय तहको निर्वाचन गर्ने कि स्थानीय तहको भन्नेबारेमा दलहरूबीच विवाद चलेको छ ।

स्थानीय निर्वाचनबारे तीन दल तीनतिर

नयाँ संविधानले स्थानीय तहको परिकल्पना गरेको छ । संविधान जारी भएपछि गठन हुने भनिएका स्थानीय तहको निर्वाचन गर्न तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले कार्यतालिकासमेत जारी गरेको थियो । ओली सरकारले संविधान कार्यान्वयनको कार्ययोजना ल्याउँदा स्थानीय निकायको निर्वाचन गर्ने भनिएको थियो । त्यतिवेला प्रतिपक्षी दल कांग्रेसले स्थानीय तहको निर्वाचन गर्नुपर्ने अडान राखेको थियो । तर, अहिले कांग्रेसको गठबन्धनमा सरकार बनेपछि स्थानीय निकायको निर्वाचन गर्नुपर्ने अडान राख्न थालेको छ । यसमा माओवादी केन्द्रले भने प्रस्ट छैन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले स्थानीय निर्वाचनमा जोड दिने बताए । तर, उनले स्थानीय तह कि स्थानीय निकाय भन्नेबारेमा प्रस्ट जवाफ दिएनन् । स्थानीय तहको पुनर्संरचना भएमा स्थानीय तहकै निर्वाचन गर्ने लेखकको भनाइ छ । विगतमा एमाले सरकारले पनि स्थानीय तह वा स्थानीय निकाय कुन निर्वाचन गर्ने भन्ने प्रस्ट धारणा ल्याउन सकेको थिएन । मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा रहेको एमाले अहिले स्थानीय तहको निर्वाचनको पक्षमा बोलिरहेको नयाँ पत्रिकामा खबर छ ।

निर्वाचन गर्न कानुन नै बनेन

सबैले स्थानीय तहको निर्वाचन गर्ने भने पनि कानुन बनाउने कुरामा भने अहिलेसम्म कसैले चासो दिएका छैनन् । १२ वर्षसम्म ११ पटक प्रतिबद्धता जनाएका दलले स्थानीय निर्वाचनका लागि आवश्यक कानुन बनाउन ध्यान नदिएका हुन् । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादव दलहरूले राजनीतिक प्रतिबद्धता जनाए पनि अहिलेसम्म कुनै कानुन नबनाएको आरोप लगाए । उनले आयोगले मस्यौदा पठाउँदा पनि दलहरूले ऐन पास गरेर नपठाएको गुनासो गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com