‘खाडी मुलुकका घरेलु कामदारको सुरक्षामा गम्भीर हुन आवश्यक’


प्रकाशित मिति : पुस ५, २०७४ बुधबार

दक्षिण एशियाली राष्ट्रबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा महिलालाई पठाउँदा उनीहरुको सुरक्षा र अधिकारमा संवेदनशील हुन आवश्यक रहेकामा यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइएमओ), स्विस सहयोग नियोग (एसडिसी) र युएन ओमनले यहाँ आज आयोजना गरेको ‘वैदेशिक रोजगारीमा लैङ्गिक संवेदनशीलताबारे बहुसरोकार परामर्श’ कार्यक्रमका सहभागीले खाडी राष्ट्रमा जाने महिला कामदारको सुरक्षाका लागि स्पष्ट मापदण्ड बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा आइएमओ, अमेरिकाका वरिष्ठ अधिकृत युको हमादा र आइएमओका परामर्शदाता मारी जोसे तायहले कार्यपत्र प्रस्तुत गर्दै विशेषगरी खाडीमा घरेलु कामदारका रुपमा जाने महिला कामदारले विभिन्न समस्या भोग्नुपरेको बताउँदै सो समाधानका लागि गन्तव्य मुलुक र कामदार पठाउने मुलुकले लैङ्गिक संवेदनशीलता अनुगमन संयन्त्रको विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट गन्तव्य मुलुक कुवेत, लेवनान, बहराइन र जोर्डनमा गएका घरेलु कामदारलाई लक्षित गर्दै गरिएको सर्वेक्षण र अध्ययनका आधारमा तयार पारिएको सो कार्यपत्रमा ती मुलुकमा घरेलु महिला कामदारसम्बन्धी स्पष्ट कानून नहुँदा कामदारले विभिन्न समस्या भोग्नुपरेको उल्लेख छ ।

सम्बन्धित गन्तव्य मुलुकसँग घरेलु कामदारसँग सम्बन्धित द्विपक्षीय श्रम सम्झौता गरेर कामदार पठाउन पहल गर्न आवश्यक रहेकामा कार्यपत्रले जोड दिएको छ । कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले वैदेशिक रोजगारीमा गएका घरेलु कामदारको अधिकार र सुरक्षाका विषयमा नेपाल सचेत रहेको बताउँदै त्यसका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्लेले पटकपटक गन्तव्य मुलुकसँग घरेलु कामदारको सुरक्षाका विषयमा कुरा राखे पनि धेरै मुलुकबाट अझै स्पष्ट जवाफ आइनसकेको बताउनुभयो । आइएमओ, नेपालका नियोग प्रमुख पउल आई नोर्टोनले दक्षिण एसियाबाट खाडीमा घरेलु कामदारका रुपमा जाने संख्या ठूलो रहेको भन्दै उनीहरुको सुरक्षा र अधिकारका विषयमा यो क्षेत्रका देश संवेदनशील हुन आवश्यक रहेको बताउनुभयो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका खाडी राष्ट्रमा कार्यरत कूटनीतिक नियोगका कर्मचारी र श्रम सहचारीको उपस्थिति रहेको छ ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com