दाइजो नल्याएको निहुँमा एक किशोरीलाई आफन्तले दिए यातना


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

पुस ३ मोरङ । मोरङको उर्लाबारीमा दाइजो नल्याएको भन्दै एक किशोरी ९विवाहित० घरबाट निकालिएकी छन् ।

उर्लाबारी जस्तो सुगम र शिक्षित ठाउँका चन्द्रबहादुर पौडेल र उनको परिवारले विवाहमा दाइजो नल्याएको भन्दै उर्लाबारी–२ भुसी माइती भएकी गीता पौडेललाई घर निकाला गरेका हुन् ।

१८ वर्षीया गीताको गत वर्ष वैशाखमा उर्लाबारीका चन्द्रबहादुर पौडेलसँग मागी विवाह भएको बताइएको छ ।

एसइइ दिएर उच्च शिक्षाको तयारीमा रहेकी गीतालाई चन्द्रबहादुर पौडेलका बुवा तुलबहादुर लगायत घरपरिवारले विवाहको समयमा दाइजो नचाहिने बताएका थिए । तर, असारमा ससुरा तुलबहादुरको निधन भएपछि सासु र श्रीमानले विवाहमा दाइजो नल्याएको भन्दै मानसिक यातना दिन थालेको गीताले बताइन् ।

दाईजोको निहुँमा श्रीमान् र सासुले आफूलाई शारीरिक तथा मानसिक यातना दिनुका साथै भैसी गोठमा राखेको गीताको भनाइ छ ।

यस सम्बन्धमा माइतीमा कुरा गर्न खोज्दा फोन सम्पर्क गर्न नदिएको, धम्क्याएको र कुटपिट गर्ने गरेको पनि उनले बताइन् । उनले आफूलाई अन्याय भएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छन् ।

उता, छोरीलाई घर निकाला गरेर पशुसरह गोठमा राखिएको खबरपछि माइतीपक्ष पुग्दा उनीहरूमाथि नै घरपरिवारले विभिन्न लाञ्छना लगाएको पीडित पक्षको भनाइ छ ।

हाल गीता उर्लाबारी–४ स्थित माइतमा आश्रय लिएर बसेकी छन् । उनले आफू पीडित भएको र अन्यायमा परको कारण न्यायको खोजीमा रहेको बताइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com