तरार्इमा शीतलहरले जनजीवन प्रभावित


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

पुस १ गौर रौतहटमा दुई दिनयता बाक्लो हुस्सु तथा शीतलहर चलेका कारण जनजीवन प्रभावित बनेको छ। वर्षायाममा बाढीले घरबारविहीन बनेका पीडितलाई शीतलहरले नराम्ररी सताउन थालेको छ। चिसोबाट बच्न स्थानीयले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन्। दलित बस्तीहरूमा ओढ्ने–ओछ्याउने नहुँदा धेरै स्थानीय चिसोबाट प्रभावित बन्दै आएको मुसहर समुदायका अगुवा नथुनी माझी मुसहरले बताए।

कतिपय गरिब परिवारका सदस्य सुकुल ९चटाई०का भरमा जाडो थेग्न बाध्य छन्। बाढी र डुबानका कारण झुपडीसमेत गुमाएका पीडित पराल बालेर आगो तापी रात काट्न बाध्य छन्।

पैसा हुनेले ओढ्ने सिरक तथा अन्य न्याना कपडाको व्यवस्था गरिरहेका छन्। आर्थिक अवस्था कमजोर हुनेहरूले जाडोमा ओढ्न र ओछ्याउनका लागि परालको सुकुल बुन्ने गरेका छन्। चिसोका कारण अति विपन्न मुसहर, डोम, राम, पासवान बस्तीका बासिन्दा बढी पीडित छन्।

बाक्लो हुस्सुका कारण बिहान पूर्व–पश्चिम राजमार्गमा सवारी साधनसमेत कम चलेका छन्। रौतहटका मुख्य बजारहरू चन्द्रनिगाहपुर, गरुडा, शिवनगर तथा सदरमुकाम गौरमा चहलपहल कम छ।

बाक्लो हुस्सुका कारण राजमार्गमा दुर्घटनाको सम्भावना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई सचेत गराउन थालेको छ। राति र बिहान राजमार्गमा बाक्लो हुस्सु लाग्ने हुँदा चालकलाई सावधानी अपनाउन सुझाव दिँदै आएको ट्राफिक प्रहरी निरीक्षक राममणि उप्रेतीले बताए।

चिसोबाट बच्नका लागि न्यानो लुगा लगाउन, पानी तताएर पिउन चिकित्सकले सुझाव दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com