कमल थापाद्धारा एमालेलाई बधाई,आफ्नो कार्यशैलीमा पुनःसमीक्षाको खाँचो


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन परिणामबारे पार्टी केन्द्रीय कार्यसमितिले विस्तृत अध्ययन गरी कार्यशैलीमा पुनःसमीक्षाको खाँचो भएको बताएका छन् ।

पार्टी अध्यक्ष कमल थापाले आज जारी गरेको विज्ञप्तिमा परिणाम जेजस्तो भए पनि चुनावमा पार्टीसँग सहकार्य गर्ने सबै राजनीतिक दल तथा शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सफल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार, निर्वाचन आयोग, सुरक्षा अंग र प्रशासनिक संयन्त्र र सबै जनतालाई धन्यवाद दिइएको छ ।

निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै नेता थापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल भएकामा नेकपा (एमाले) लाई बधाई दिएका छन् ।

परिणाम निराशाजनक भए पनि जनादेशलाई प्रजातान्त्रिक आदर्शअनुरुप हार्दिकताका साथ शिरोधार्य गरिने जनाइएको छ ।

निर्वाचनमा यस्तो निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिने उल्लेख गर्दै विज्ञप्तिमा विचलित नभई पार्टीको आदर्श र मान्यताप्रति प्रतिबद्ध रहन सम्पूर्ण कार्यकर्ता, सहयोगी र शुभचिन्तकलाई आग्रह गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com