उपत्यकामा १० वर्षपछि ट्राफिक बत्ती जडान शुरु


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

मंसिर २९, दस वर्षपछि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्ती जडान तथा मर्मत गर्न थालिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, सडक बोर्ड र काठमाडौं महानगरपालिकाले लामो समयपछि नारायणगोपाल र नयाँ बानेश्वर चोकबाट बत्ती जडान सुरु गरेको हो । पहिलो चरणमा नमुनाका रूपमा यी चोकमा जडान गरेर केही दिनभित्रै अरू ठाउँमा पनि बत्ती राखिनेछ ।

सडक विभागले बिग्रेका बत्तीको मर्मत नगर्दा १० वर्षदेखि ट्राफिक प्रहरीले हातको इसारामा सवारी नियन्त्रण गर्दै आएका थिए । बिग्रेका बत्तीको मर्मत तथा जडान हुन नसकेको भन्दै यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको चर्को आलोचना भएपछि सरोकारवाला निकायले प्रक्रिया अघि बढाएको हो । पैदलयात्रीलाई समेत अप्ठ्यारो भन्दै ट्राफिक जेब्रा क्रसिङमा समेत बत्ती राख्न सुरु गरेको छ । महाराजगन्ज शिक्षण अस्पताल अगाडि, हरिहर भवन र जावलाखेललगायत केही स्थानको जेब्रा क्रसिङमा बत्ती राख्न थालेको उनले जानकारी दिए । जेब्रा क्रसिङमा राखिने बत्तीमा साइरनसमेत जडान गरिनेछ । जसले गर्दा रातो बत्ती बलेको बेला दृष्टिविहीनलाई समेत सडक पार गर्न सजह हुनेछ ।
बढ्दो सवारी चापलाई ध्यान दिई ट्राफिक बत्ती जडान प्रक्रिया अघि बढाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआईजी सर्वेन्द्र खनालले जानकारी दिए ।

‘पहिलो चरणमा यी दुई स्थानमा जडान गर्दै छौं, बिस्तारै अन्य स्थानमा काम अघि बढाउँछौं,’ खनालले भने, ‘ट्राफिक लाइट नहुँदा सवारी व्यवस्थापन गर्न निकै फितलो भएको छ, बत्ती हुनैपर्छ, ट्राफिक प्रहरीलाई निकै हैरानी छ ।’ एक ठाउँमा भएको ट्राफिक जामले पूरै उपत्यकामा दिनभर असर पार्ने उनले बताए । हाल जडान गरिएको नयाँ प्रविधि भएको दाबी गर्दै उनले नियन्त्रण कक्षबाट सबै सवारी आवतजावत तथा ट्राफिक जामको अवलोकन गर्न सकिन्छ । १० लाखभन्दा बढी सवारीलाई १२ सय ट्राफिक प्रहरीले हातको इसाराले नियन्त्रण गर्नुपरेको उनले बताए । विभागका अनुसार उपत्यकामा ३ सय ६५ वटा बत्ती भए पनि हाल ५ स्थानमा मात्र सञ्चालनमा छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले उपत्यकाका ३५ स्थानमा ३७ ट्राफिक बत्ती जोड्ने तयारी गरेको छ ।

विभागले बढ्दो ट्राफिक जामलाई व्यवस्थित गर्न आधुनिक तथा प्रविधियुक्त ट्राफिक लाइट जोड्ने तयारी गरेको हो । माइतीघर, तीनकुने, जयनेपाल हल, थापाथली चोक, जाउलाखेल चोकमा लाइट जडान गरिनेछ । त्यसैगरी नारायणगोपाल चोक, त्रिपुरेश्वर, दरबारमार्ग, भद्रकाली, कमलपोखरी, जमल, लौनचौरलगायत क्षेत्रमा पनि जडान गरिनेछ ।

सडक विभागका महानिर्देशक गोपाल सिग्देलले नेपाली प्रविधिअनुसार पहिलोपटक ट्राफिक बत्ती जडान गर्न थालिएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com