सुगम क्षेत्रकै महिलामा पाठेघरको समस्या धेरै
प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

मंसिर २८, प्यूठान – सुगम ठाउँ भनेर के गर्नु जहाँका महिला अहिले पनि पाठेघरको समस्याले पीडित छन् । यो समस्या भनेको प्यूठान नगरपालिका भित्र पर्ने सापडाँडाका महिलाको हो । केही दिन अगाडि स्वास्थ्य परिक्षणकै क्रममा यो समस्या रहेको तथ्य देखिएको थियो । विरणअनुसार केही समय अगाडि यौन तथा प्रजनन् र आङ खस्ने सवालमा रिङ पेसरी राख्ने तालिमको अन्तिम दिनमै ११ जना आङ खसेका महिलाहरुले रिङ पेसरी राखेका थिए । गैरसरकारी संस्था प्यूठानको आयोजनामा ३ दिनसम्म स्वास्थ्यकर्मीहरुका लागि सञ्चालन भएको तालिमको अन्तिम दिन सापडाँडा स्वास्थ्य चौकीमा प्रयोगात्मक गरिएको थियो।
प्रयोगात्मकको समय अर्थात एक दिनमै ११ जना महिला पाठेघर खसेका महिलाहरुले उपचार गराएका थिए । छोटो समयमै यति धेरै पाठेघर खसेका उपचार गराउनुले प्यूठानमा पाठेघर खसेका महिला अत्यधिक छन् भन्ने संकेत दिएको गैससका अध्यक्ष रमेश श्रेष्ठको भनाइ छ । सबै हिसावले सुगम मानिने ठाउँमै यस्तो देखियो भने दुर्गम बस्तीहरुका महिलाको अवस्था कस्तो होला ? यस विषयमा सम्बन्धित निकायको ध्यान जाने पर्ने कि नपर्ने यावत प्रश्न उठ्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा पाठेघर खसेका महिलाको आधिकारिक तथ्यांक नभए पनि उपचार गर्न आउने मध्ये धेरै जसोको समस्या भनेका पाठेघर सम्बन्धी नै भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले भने–‘अनमी भनेका महिलाहरुकै समस्याका बारेमा काम गर्ने भएकाले पनि यो समस्यालाई महिला अधिकारसँग जोड्नु पर्छ ।’ सुवेदीले थप्दै भन्छन् –यो समस्याका लागि जनस्वास्थ्य कार्यालयले स्थानीय तह, विभिन्न सरकारी निकाय र गैरसरकारी संघसस्थाका लागि छलफल तथा समन्वय गर्नेछ ।’
पाठेघर खस्ने महिलाको यकिन तथ्यांक अहिलेसम्म नभएको यस विषयलाई सामान्य रुपमा लिन नहुने आग्रह समेत गरेका छन् । बाल विवाह, गर्भावस्था तथा सुत्केरी अवस्थामा आराम गर्न नसक्नु, छिटो–छिटो बच्चा जन्माउनु र गर्भपतन गराउनु नै पाठेघर खस्ने मुख्य समस्या भएको सुवेदीले बताए ।
जुन समयमा महिलाको स्वास्थ्य अवस्था कमजोर भएको हुन्छ त्यही समयमा नै हरेक हिसाबबाट वञ्चित हुनु पर्दा धार्मिक विश्वास पनि महिलाको पाठेघर खस्ने समस्यामा मद्धत पु¥याइरहेको केड काठमाण्डौका डा. सुरेश भट्राईले बताए । गर्भावस्था एवं सुत्केरी अवस्थामा गरुङ्गो भारी बोक्न नहुने, सरसफाइ तथा खानपानमा विशेष ध्यान दिनु पर्ने र सुत्केरी भएको ४५ दिनसम्म नितान्त आराम गर्नुपर्ने उनको भनाइ छ ।
महिलाहरुको विकराल रुपमा रहेको आङ खस्ने समस्यालाई न्युनीकरण गर्ने उदेश्यले प्यूठानका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत २२ जना अनमीहरुले रिङ पेसरी राख्ने तालिम दिइएको छ ।