यी हुन् एसाइलम स्वीकृत गर्ने अमेरिकाका टप न्यायाधिसहरु (कभर स्टोरी )


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

 – किशोर पन्थी

अमेरिकामा एसाइलम गरेर शरणार्थीका रुपमा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या अहिलेसम्म झण्डै साढे ८ हजार रहेको छ । उनीहरुमध्ये अधिकांशले माओवादीपीडित भनेर अमेरिकामा शरण लिदै आएका छन् । तर माओवादी पीडित भनेर देखाउदैमामात्र अमेरिकामा सजिलै शरण पाउन सम्भव छैन । युएससीआईएसबाट आवेदन स्वीकृत नभएकाहरुका सन्दर्भमा कागजपत्र देखाउदा देखाउदै पनि शरण पाउने वा नपाउने कुराको निर्धारण अध्यागमन न्यायाधिसहरुले गर्ने भएकाले एसाइलम स्वीकृत हुने वा नहुने कुरा न्यायाधिसपिच्छे फरक पर्छ ।

कुनै न्यायाधिसले सामान्य कागजपत्रका आधारमा पनि एसाइलम स्वीकृत गर्छन् भने कुनै न्यायाधिसले गर्दैनन् । कुनै न्यायाधिसले प्राय सबै एसाइलमका मुद्दाहरु स्वीकार गर्दै आएका छन् भने कुनै न्यायाधिसले असाध्यै कममात्र मुद्दाका पक्षमा फैसला गर्दै आएका छन् । एसाइलमका मुद्दामा फैसला गर्ने अमेरिकाका कडा र नरम न्यायाधिसहरुको नयाँ काउन्टडाउन सार्वजनिक भएको छ । आर्थिक बर्ष २०१७ सम्म उनीहरुले गरेका फैसलाको विश्लेषण गरेर यो काउन्टडाउन तयार पारिएको हो ।

नरम न्यायाधिस न्युयोर्कमा

एसाइलम धेरै स्वीकृत गर्ने अधिकांश नरम न्यायाधिसहरु न्युयोर्कमा रहेका छन् । न्युयोर्कमा रहेका न्यायाधिसमा सबैभन्दा नरम न्यायाधिस फेडरिक लिड्स रहेका छन् उनले कुल मुद्दाको ९७ प्रतिशतका पक्षमा फैसला गरेका छन् ।

त्यस्तै सबैभन्दा धेरै एसाइलम स्वीकृत गर्ने दोश्रो नम्बरमा रहेका जोअन्ना बक्सपानले ९६ दशमलव २ प्रतिशत, तेश्रो नम्बरमा रहेका अमेनिया खानले ९६ दशमलव १ प्रतिशत, चौथो नम्बरमा रहेका नोअल ब्रेननले ९५ दशमलव ३ प्रतिशत, पाँचौ नम्बरमा रहेका टेरी बेनले ९४ दशमलव ९ प्रतिशत मुद्दाका पक्षमा फैसला गरेका छन् । उनीहरु अमेरिकाभरमा नै सबैभन्दा धेरै एसाइलम स्वीकृत गर्ने टप फाइभ न्यायाधिसहरु हुन् ।

९० प्रतिशतभन्दा धेरै मुद्दा स्वीकृत गर्नेहरुमा बिग्रिट लाफोरेष्ट, ओलिभिया क्यासिन, जर्ज च्यू, डगलस चपर्ट, थोमस मुलिगन, भिभिने गोर्डन, मार्गरेट म्याकमनस, रेजा कोहेन र एलिजाबेथ ल्याम्ब रहेका छन् । असाध्यै कममात्र मुद्दाका पक्षमा फैसला गर्ने न्युयोर्कका न्यायाधिसहरुमा स्याण्डी होमपछि एलेन भोमाका, ग्याब्रिएल भिडेला र बारबरा नेल्सन रहेका छन् । उनीहरुले ५० प्रतिशत भन्दा पनि कम मुद्दाका पक्षमा फैसला गरेका छन् ।

६० देखि ७० प्रतिशत मुद्दाका पक्षमा फैसला गर्नेहरुमा जेसी क्रिस्टेन्सन र अभिभा पोक्जेर रहेका छन् । अरु सबै न्यायाधिसहरुले ७० देखि ९० प्रतिशतको बीचमा मात्र मुद्दाका पक्षमा फैसला गर्दै आएका छन् । रोचक कुरा त के छ भने सबैभन्दा धेरै एसाइलमका मुद्दा स्वीकृत गर्ने अधिकांश न्यायाधिसहरु महिला रहेका छन् ।

अन्य राज्यमा कस्तो छ ?

क्यालिफोर्नियाको अडेलान्टो अदालतमा ६ जना न्यायाधिसहरुले एसाइलमका मुद्दाको फैसला गर्दै आएका छन् । यो अदालतबाट कुल एसाइलमका मुद्दाहरुमध्ये ८० प्रतिशतभन्दा धेरै मुद्दाहरु अस्वीकृत हुँदै आएका छन् । यो अदालतमा तिमोथी एभरेटले सबैभन्दा धेरै ९० दशमलव ४ प्रतिशत र डेभिड बु्रकले सबैभन्दा थोरै ८० दशमलव ९ प्रतिशत मुद्दामा एसाइलम अस्वीकृत गरेका छन् ।

त्यस्तै आर्लिंटनमा ८ जना न्यायाधिसहरु कार्यरत रहेकोमा रोजर ह्यारिसले सबैभन्दा धेरै ८९ दशमलव २ प्रतिशत र पउल डब्ल्युले १६ दशमलव ५ प्रतिशत मुद्दामा एसाएइलम अस्वीकृत गरेका छन् । पउल यो अदालतका सबैभन्दा नरम न्यायाधिस रहेका छन् । उनले ८३ दशमलव ५ प्रतिशत मुद्दामा एसाइलम स्वीकृत गरेका छन् ।

एटलान्टाको अदालतमा रहेका ५ न्यायाधिसहरुमध्ये अर्लि विल्सन सबैभन्दा कडा छन् । उनले अधिकांश एसाइलमका मुद्दा अस्वीकार गर्दै आएका छन् । त्यहाँ सबैभन्दा धेरै एसाइलमका मुद्दा हेर्ने पनि उनी नै हुन् । उनले सन् २०१२ देखि २०१७ सम्म आफूकहाँ आएका कुल १११४ मुद्दामध्ये २ दशमलव २ प्रतिशत मुद्दाका पक्षमा मात्र फैसला गरे बाँकी ९७ दशमलव ८ प्रतिशत मुद्दाहरु अस्वीकार गरे । एटलान्टाबाट कुनै पनि न्यायाधिसले २१ प्रतिशतभन्दा धेरै एसाइलमका मुद्दा स्वीकार गरेका छैनन् ।

त्यस्तै बाल्टिमोरमा ६ जना न्यायाधिसहरुमध्ये सबैभन्दा कडा एलिजाबेथ केस्लरले ३८ दशमलव ६ प्रतिशत र सबैभन्दा नरम डेनिस स्लाभिनले ९३ दशमलव ५ प्रतिशत मुद्दाका पक्षमा फैसला गरेका छन् । बोष्टनमा पनि ७ जना न्यायाधिसहरुमध्ये सबैभन्दा कडा रोजर ह्यारिसले ४४ दशमलव २ प्रतिशत र सबैभन्दा नरम मौरिन सुलिभानले ७८ दशमलव २ प्रतिशत एसाइलमका मुद्दाका पक्षमा फैसला गरेका छन् । शिकागो, लस एन्जलस, शियाटल लगायतका स्थानमा पनि एसाइलम अस्वीकृत दर उच्च छ तर सान फ्रान्सिस्कोमा भने रेबेका जमिलले ९० दशमलव ६ प्रतिशतसम्म मुद्दाका पक्षमा फैसला गरेका छन् ।

अमेरिकाका टप फाइभ नरम न्यायाधिसहरु

१, फ्रेडरिक लिड्स

सन् २००६ को मार्चमा अध्यागमन न्यायाधिसका रुपमा नियुक्त लिड्सले सन् १९८७ मा वासिंटन कलेज अफ ल बाट जुरिस डक्टरेट गरेका हुन् । न्युजर्सी, डिसी र न्युयोर्क बारका सदस्य समेत रहेका उनी अमेरिकामा नै सबैभन्दा धेरै एसाइलमका मुद्दा स्वीकार गर्ने न्यायाधिस हुन् ।

सन् २०१२ देखि सन् २०१७ सम्म उनले न्युयोर्कमा ८४६ वटा एसाइलमका मुद्दा हेरेका थिए । जसमध्ये उनले ९७ प्रतिशत मुद्दाका पक्षमा फैसला गरे भने ३ प्रतिशत मुद्दाका विपक्षमा फैसला गरे ।

अमेरिकाभरमा नै एसाइलमका मुद्दाका पक्षमा फैसला गर्नेमा उनी पहिलो नम्बरमा छन् । २९३ जनाको सुचीमा उनी एसाइलमका मुद्दा स्वीकृत गर्नेमा पहिलो नम्बरमा छन् । उनले चिनियापछि शोभियत युनियन र त्यसपछि नेपालीका एसाइलमका मुद्दा फैसला गरेका थिए । सन् २०१२ देखि सन् २०१७ सम्म उनले फैसला गरेका कुल ८४६ मुद्दामध्ये ३ दशमलव २ प्रतिशत मुद्दा नेपालीका थिए । उनले न्युजर्सीको नेवार्कमा समेत मुद्दाका फैसला गर्दै आएका छन् ।

२, जोअन्ना बक्सपान

सन् १९९५ को सेप्टेम्बरदेखि इमिग्रेशन जज नियुक्त जोअन्नाले सन् १९६३ बाट सिटी युनिभर्सिटी अफ न्युयोर्कबाट स्नातक गरेकी थिइन् भन् सन् १९७६ मा बु्रकलिन ल स्कुलबाट जुरिस डक्टरेट । सन् १९७६ देखि १९७८ सम्म कानुन व्यवसायीका रुपमा व्यक्तिगत अभ्यास गरेकी उनी न्युयोर्क बारकी सदस्य थिइन् ।

जोअन्नाले सन् २०१२ देखि २०१७ सम्म ११४४ वटा एसाइलमका मुद्दा हेरेकी थिइन् जसमध्ये ९६ दशमलव २ प्रतिशत मुद्दाका पक्षमा फैसला गरिन् भने ३ दशमलव ८ प्रतिशत मुद्दा अस्वीकार गरिन् । अमेरिकाभर एसाइलमका मुद्दा स्वीकार गर्नेमा उनी दोश्रो नम्बरमा छिन् ।

उनले पनि चिनियाहरुपछि सबैभन्दा धेरै नेपालीहरुका मुद्दाको फैसला गरेकी थिइन् । सन् २०१२ देखि सन् २०१७ सम्म उनले फैसला गरेका कुल मुद्दाहरुमध्ये २ दशमलव ६ प्रतिशत मुद्दाहरु नेपालीका थिए ।

३, अमेनिया खान

अमेनिया खानलाई सन् २०१० को डिसेम्बरका न्यायाधिसका रुपमा नियुक्त गरिएको थियो । सन् १९८३ मा न्युयोर्क युनिभर्सिटीबाट उनले स्नातक गरेकी थिइन् भने सन् १९८७ मा न्युयोर्क ल स्कुलबाट जुरिस डक्टरेट गरेकी थिइन् । उनले सन् १९९२ देखि सन् २०१० सम्म न्युयोर्कमा कानुन व्यवसायीका रुपमा काम गरिन् । न्युयोर्क स्टेट बारकी सदस्य खानले जनरल लिटिगेशनमा कानुन व्यवसायीका रुपमा काम गरेकी थिइन् ।

सन् २०१२ देखि सन् २०१७ सम्मको अवधिमा उनले न्युयोर्कमा कुल १५३ वटा एसाइलमका मुद्दा हेरेकी थिइन् जसमध्ये १ सय ४७ वटा मुद्दाका पक्षमा फैसला गरेकी थिइन् । उनले कुल मुद्दामध्ये ९६ दशमलव १ प्रतिशत मुद्दाका पक्षमा फैसला गरिन् भने जम्मा ३ दशमलव ९ प्रतिशत मुद्दामात्र अस्वीकार गरिन् । अमेरिकाभर एसाइलमका मुद्दा स्वीकार गर्नेमा उनी तेश्रो नम्बरमा रहेकी छिन् । यद्यपी उनले नेपालीका मुद्दाहरुभने असाध्यै कममात्र हेरेकी छिन् । खानले न्युयोर्कका अतिरिक्त न्युजर्सीमा पनि अध्यागमनका मुद्दा हेर्दै आएकी छिन् ।

४, नोयल ब्रेनन

सन् २००३ को अगस्तमा इमिग्रेशन न्यायाधिसका रुपमा नियुत्त, नोयल ब्रेननले सन् २००० को जुलाईदेखि बोर्ड अफ इमिग्रेशन अपिलमा काम गरेकी थिइन् । जर्ज वासिंटन युनिभर्सिटीबाटै मास्टर्स डिग्री हासिल गरेकी उनले सन् १९९४ देखि अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसमा काम गर्न थालेकी थिइन् ।

सन् २०१२ देखि सन् २०१७ सम्म उनले २१८२ वटा एसाइलमका मुद्दाहरु हेरेकी थिइन्, जसमध्ये उनले २०७९ वटा मुद्दाका पक्षमा फैसला गरेकी थिइन् । उनले जम्मा ४ दशमलव ७ प्रतिशत मुद्दामात्र अस्वीकार गरिन् भने ९५ दशमलव ३ प्रतिशत मुद्दाहरु स्वीकार गरिन् । अमेरिकाभरमा एसाइलमका मुद्दा स्वीकार गर्ने न्यायाधिसमा उनी चौथो नम्बरमा छिन् ।

उनले चिनियाहरुपछि सबैभन्दा धेरै भारतीय र त्यसपछि नेपालीहरुका मुद्दाको फैसला गरेकी थिइन् । सन् २०१२ देखि सन् २०१७ सम्म उनले फैसला गरेका कुल मुद्दामध्ये ४ दशमलव १ प्रतिशत नेपालीहरु थिए ।

५, टेरी बेन

सन् १९९४ को फरबरीमा इमिग्रेशन न्यायाधिसका रुपमा नियुक्त भएकी टेरी बेनले सन् १९७३ मा जर्ज वासिंटन युनिभर्सिटीबाट आर्टमा स्नातक गरेकी थिइन् भन् सन् १९८० मा बु्रकलिन ल स्कुलबाट जुरिस डक्टरेट गरिन् । न्युयोर्कमा सन् १९८१ देखि १९८६ सम्म कानुन व्यवसायीका रुपमा काम गरेकी उनी न्युयोर्क बारकी सदस्य थिइन् ।

सन् २०१२ देखि सन् २०१७ सम्म बेनले १७७६ वटा एसाइलमका मुद्दाको फैसला गरेकी थिइन् जसमध्ये १६८६ वटा मुद्दाहरुका पक्षमा उनले फैसला गरिन् । उनले कुल मुद्दाहरुमध्ये ९४ दशमलव ९ प्रतिशत मुद्दाहरुका पक्षमा फैसला गरेकी थिइन् भने ५ दशमलव १ प्रतिशत मुद्दाहरुका विपक्षमा फैसला गरेकी थिइन् ।

उनी अमेरिकामाभरमा नै एसाइलमका मुद्दाहरु सबैभन्दा धेरै स्वीकृत गर्नेहरुमा पाँचौ नम्बरमा परेकी छिन् । उनले चिनियाहरुपछि सबैभन्दा धेरै नेपालीहरुका मुद्दाको फैसला गरेकी थिइन् । सन् २०१२ देखि सन् २०१७ सम्म उनले फैसला गरेका कुलमुद्दामध्ये ४ दशमलव ६ प्रतिशत नेपालीहरु थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com