आजदेखि मतदातालाई परिचय पत्र बाँड्दै ः निर्वाचन आयोग


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

मंसिर १९ काठमाडौँ । आगामी बिहीबार हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग लिने मतदाताले आजदेखि परिचय पत्र पाउने भएका छन्।

निर्वाचन आयोगले ४५ जिल्लाका विभिन्न स्थानमा रहेका मतदान केन्द्रबाट मंगलबार बिहानैदेखि फोटोसहित परिचय पत्र बाँडिरहेको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए।

‘ढकालका अनुसार कोहीले बिहान ८ बजेदेखि नै सुरु गरेका छन्, कोही केहीबेरमा सुरु गर्ने र सबै केन्द्रमा कर्मचारी परिचय पत्र लिएर पुगिसकेका छन् ।
उनले हरेक केन्द्रमा आयोग कर्मचारी पुग्ने भएकाले मतदातालाई सजिलो होस् भने अन्तिम समयमा परिचय पत्र बाँड्न लागिएको बताए।

‘पहिला कर्मचारी गाउँ पुगेका हुँदैनन्, जिल्लाबाट बाँड्दा मतदातालाई असुविधा हुने भएकाले अन्तिम समयमा बाँडेका हौं,’ ढकालले भने।

उनका अनुसार स्थानीय तहमा भन्दा यसपालि १५ लाख मतदाता थपिएका छन्। स्थानीय चुनावमा भोट हाल्दा कार्ड लिएकाले त्यही कार्ड देखाएर मत हाल्न पाउँछन्।

‘१५ लाख नयाँ मतदाता थपिएका छन्, ७ लाखले पुराना कार्ड नाम, ठेगाना सच्याएर नयाँ परिचय पत्र बनाएका छन्,’ ढकालले भने।

मतदाता परिचय पत्र हराएका वा नलिएकाले अन्य कागजात देखाएर मतदान गर्न पाउने नपाउने विषयमा बुधबार साँझ आयोगले निर्णय गर्ने उनले जानकारी दिए।

बिहीबार ४५ जिल्लामा १२८ प्रतिनिधि सभा र २५६ प्रदेश सभा सदस्यका लागि मतदान हुँदैछ। आयोगले बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान समय तोकिएको छ।

दोस्रो चरणको चुनावको लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ।

यसअघि मंसिर १० गते हिमाली र पहाडी जिल्लाका ३२ जिल्लामा मतदान भइसकेको छ।

आयोगले ती जिल्लामा बिहीबार साँझ पाँच बजेपछि नै मतगणना सुरु हुने जनाएको छ । मतगणना सुरु भएको हप्ता दिनभित्र प्रत्यक्षतर्फको सबै परिणाम आइसक्ने आयोगले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com