पैसा दिए पचाईदिनुस्, भोट हाल्दा गल्ती नगर्नुस्ः ओली


प्रकाशित मिति : मंसिर १८, २०७४ सोमबार

१८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपन पुगेर माओवादी नेता कार्यकर्तालाई अन्य उम्मेदवारलाई भोट नदिन खबरदारी गरेका छन् ।

काठमाडौं ४ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका राजन भट्टराई उम्मेदवार छन् । प्रदेशतर्फ पनि दुबै उम्मेदवार एमालेबाटै छन् ।

माओवादीको भोट कांग्रेस उम्मेदवार गगन थापातिर जाने सक्ने आशंका बढेपछि ओलीले देशभर कसले के गरेको छ, प्रचण्ड र आफूले हेरिरहेको बताएका हुन् ।

कपनमा आयोजित चुनावी सभामा ओलीले आफू प्रचण्डलाई भोट माग्न चितवन गएको स्मरण गर्दै भने, ‘यो पार्टी, त्यो पार्टी भन्ने होइन । विना कन्जुस्याङ सक्रिय हुनुस् । सम्पूर्ण शक्ति लगाउनुस् । एउटा भन्ने अर्को गर्ने चरित्र आवश्यक छैन ।’

चुनावअघि नै पार्टी एकता गर्न चाहेको तर, समयले नभ्याएको उनले बताए ।

कुनै उम्मेदवारको नाम नलिई एमाले अध्यक्ष ओलीले पैसाको बिटो बोकेर आएको र मतदातालाई किन्न खोजेको दाबी गरे । ‘पैसा दिइहाले र बाध्य बनाए भने समाइदिनुस् र पचाइदिनुस्’ उनले भने, ‘तर, भोट हाल्दा गल्ती गर्नु हुँदैन ।’

उनले भट्टराईको प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गगन थापालाई ‘सेलिब्रेटी’ भन्दै व्यग्य पनि गरे । देश बनाउन वाम गठबन्धने जित्नु पर्ने दाबी गर्दै उनले भने ‘सेलिब्रेटीको काम कारसँगै यसो उभिने हो । नाटकवाज होइन, कामवाज, जनतासँग चिप्लो कुरा गर्ने होइन, जनताका लागि मरिमेट्नेलाई रोज्नुस् ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com