देउवा भन्छन्-बहुमतको नजिक, ओली भन्छन्-दुई तिहाई नजिक


प्रकाशित मिति : मंसिर १८, २०७४ सोमबार

१८ मंसिर, काठमाडौं । आम चुनावको महासंग्राम सकिनै लाग्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ-आफ्ना लक्षबारे मुख खोलेका छन् ।

कांग्रेस सभापति देउवाले आफ्नो पार्टी बहुमतको नजिक पुग्ने दाबी गरेका छन् भने एमाले अध्यक्ष ओलीले वाम गठबन्धन दुई तिहाइको नजिक पुग्ने दाबी गरेका छन् ।

दुबै दलका शीर्ष नेताहरुले आगामी सरकार आफ्नै दलको नेतृत्वमा बन्ने दाबी समेत गरेका छन् ।

देउवाको दाबीः सकभर बहुमत, नभए ठूलो दल

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले ‘सकभर बहुमत ल्याउने’ बताएका छन् । बहुमत आएन भने पनि सबैभन्दा ठूलो पार्टी बन्नेमा आफू ढुक्क भएको देउवाले लक्ष सार्वजनिक गरेका छन् ।

ठूलो पार्टी बन्ने पक्कापक्की भएको दाबी गरेका देउवाले निर्वाचनपछि नेपाली कांग्रेस विपक्षी दलका बस्नु नपर्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री देउवाले अन्नपूर्णपोष्ट दैनिकका लागि पत्रकार विजयकुमारलाई दिएको अन्तरवार्तामा भनेका छन्- ‘म ढुक्क छु, नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हुनेछ ।’

त्यसैगरी प्रधानमन्त्री देउवाले कान्तिपुर दैनिकलाई दिएको अन्तरवार्तामा भनेका छन्- ‘नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी हुनेमा म ढुक्क छु । सकभर कांग्रेसको बहुमत आउँछ भन्ने लागेको छ ।’

ओलीको दाबीः दुई तिहाइ नजिक

एमाले अध्यक्ष केपी ओलीले चाहिँ वाम गठबन्धन दुई तिहाईको नजिक पुग्ने दाबी गरेका छन् ।

कान्तिपुर दैनिकलाई नै दिएको अन्तरवार्तामा ओलीले भनेका छन्-‘दुई तिहाईको आसपास । तर, बहुमतमा चाहिँ कुनै शंका छैन । आउँछ कि आउँदैन भन्ने प्रश्नै छैन ।’

चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्ने ओलीले दाबी गरेका छन् ।

यस्तो छ गुप्तचरको रिपोर्ट

पहिलो चरणको निर्वाचनअगावै राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको एक रिपोर्टमा भने एमाले सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपण गरिएको छ । कांग्रेस दोस्रो दल बन्ने गुप्तचरको रिपोर्टमा उल्लेख छ ।

अनलाइनखबरलाई प्राप्त गुप्तचरको रिपोर्टमा एमालेले प्रत्यक्षमा ५० देखि ७० सीट जित्ने र समानुपातिकमा ३१ देखि ४१ सीटसम्म जित्न सक्ने देखाइएको छ । यसका आधार जोड्दा एमालेले कुल ८१ सीटदेखि १११ सीटको वीचमा परिणाम ल्याउने गुप्तचरको रिपोर्ट छ ।

त्यसैगरी कांग्रेसले प्रत्यक्षमा एमालेको भन्दा १० सिट कम ल्याउने गुप्तचरको आँकलन छ । समानुपातिकमा भने कांग्रेसले एमालेभन्दा १ सिटमात्रै कम ल्याउने आँकलन गरिएको छ । यसरी हेर्दा कांग्रेसले जित्ने कुल सिट ७० देखि १०० सम्म हुन सक्ने गुप्तचरको विश्लेषण छ ।

रिपोर्टमा माओवादीले प्रत्यक्षतर्फ ३०/३५ सीटको हाराहारीमा जित्ने र समानुपातिक समेत जोड्दा करिब ५०/६० सीट पुग्ने देखाइएको छ ।

एमाले र माओवादीको कुल सिट जोड्दा बहुमत (१३८ सीट) सहजै कट्ने गुप्तचरको रिपोर्ट छ ।

त्यसो त अनुसन्धान विभागले यो रिपोर्ट तयार पार्दा कांग्रेस र लोकतान्त्रिक फोरमवीच पार्टी एकता भएकै थिएन । तर, रिपोर्टमा लोकतान्त्रिक फोरमले प्रत्यक्ष र समानुपातिकतर्फ गरी बढीमा ८ र घटीमा ३ सीट जित्ने देखाइएको छ, जसलाई जोड्दा पनि एमालेको भन्दा बढी हुँदैन । र, यस आधारमा पनि एमाले नै ठूलो दल हुने गुप्तचरको रिपोर्टको निश्कर्ष छ ।

रिपोर्टमा राजपा र फोरमले कुल २३ सिटको हाराहारीमा जित्ने अनुमान गरिएको छ । कमल थापाको पार्टी -रापं्रपा) को स्थिति भने राप्रपा प्रजातान्त्रिकको भन्दा कमजोर हुने दाबी गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com