प्रधानमन्त्री बन्ने रहर छैन, देश बनाउने भोक छः माधव नेपाल


प्रकाशित मिति : मंसिर १७, २०७४ आईतबार

१७ मंसिर, काठमाडौं । एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई फेरि प्रधानमन्त्री बन्ने रहर नभएको तर देश बनाउने भोक रहेको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा घरदैलोको अन्तिम दिन पूर्वप्रधानमन्त्री नेपालले अनलाइनखबरसँग भने- ‘ममा प्रधानमन्त्री बन्ने रहर छैन, देश बनाउने भोक छ । देश बनाउनका लागि को योग्य छन्, को सक्षम छन्, कसलाई विश्वास गर्न सकिन्छ भन्ने कुरा गठवन्धनले तय गर्ने हो । त्यसैका लागि हुरुक्क, हिरिक्क हुनुपर्ने, मरिहत्ते गर्ने स्वाभाव छैन मेरो ।’

चुनावी प्रचारको मैझारो हुनै लागेका बेलामा हामीले एमाले नेता नेपाललाई काठमाडौं २ मा उनको प्रचार अभियान कसरी चलेको छ भन्नेबारे संक्षिप्त कुराकानी गरेका छौंः

घरदैलो अभियान कहाँ पुग्यो ?

लगभग धेरै सकियो । ९० प्रतिशत मतदाताकहाँ पुगिसकेँ होला ।

कत्तिको थकित हुनुहुन्छ ?

थकित त थोरै भइहालियो । खुट्टामा सानो समस्या भएकाले अलिकति हिँड्न गाह्रो भएको छ । तैपनि दिनदिनै आठ घन्टा, नौ घन्टा हिँडिरहेको छु ।

पहिले आफैंले ‘तिरस्कार’ गरेर छाडेको क्षेत्रमा फेरि फर्किनुभयो भनेर तपाईंका विपक्षीहरुले आलोचना गर्दैछन् नि ? 

यो क्षेत्र मैले कहिल्यै छोडेको छैन । कागजीरुपमा छोड्नु एउटा कुरा हो । तर, यो निर्वाचन क्षेत्रलाई मैले ०६४ सालदेखि कहिले पनि छोडेको छैन । यहाँका जनताका प्रत्येक विकास निर्माणका माग, चाहना, निजी समस्या, दुःख-सुखमा म अनवरत रुपमा लागेको छु । कहिले हारे पनि, कहिले कागजीरुपमा अर्को ठाउँको सदस्यता कायम राखे पनि यहाँको जनप्रतिनिधिका रुपमा नै मैले पनि भूमिका निर्वाह गरेको छु र यहाँका जनताले पनि त्यही ठानेका छन् ।

यतिबेला पनि मान्छेले के बुझ्छन् भने माधव नेपाल नै हाम्रो जनप्रतिनिधि हो । ०७० देखि ०७४ सालसम्म यो क्षेत्रमा म सयौंपटक घुमेको छु, हजारौं मान्छेलाई भेटेको छु । थुप्रै कार्यक्रममा सहभागी भएको छु । बिहे, व्रतवन्ध, गुन्यूचोलीमा म पुगेको छु । मृत्यू संस्कारमा सहभागी भएको छु । निम्तो दिइएको ठाउँमा म पुगेको छु । मैले छोडेँ भन्ने कुरा वाहियात हो ।

तर, दुई क्षेत्रमा जितेपछि काठमाडौं २ लाई छाडेर रौतहट रोज्नुभएको त हो नि ?

मैले रोजेको होइन । हामी पार्टीका कार्यकर्ता हौं । त्यतिबेला मधेस आन्दोलन चर्किरहेको थियो । त्यसो हुनाले मधेसमा मेरो बढी आवश्यकता छ भन्ने भयो । मेरो निजी हित त यही ठाउँमा बस्दा नै हुन्थ्यो, किनभने मेरो घरबार, व्यवहार सबै यहीँ छ । रहरले त्यहाँ गएको होइन म ।

अहिले नि ?

अहिले पनि अनेक विकल्प थिए । तर, यहाँका जनताको न्यानो माया, आग्रह चाहनाले गर्दा यस ठाउँप्रति विशेष अपनत्व वोधको कारणले गर्दा यो ठाउँमा फेरि जनताको उम्मेदवार भएर आएको छु । कुनै पनि संसदभन्दा बढी यस क्षेत्रमा जाने व्यक्ति मै हुँ ।

छोडेकै कुरा गर्नुहुन्छ भने गिरिजाप्रसाद कोइराला दुई ठाउँ उठ्दा एक ठाउँ किन छोड्नुहुन्थ्यो ? शेरबहादुर देउवा, सुशील कोइरालाले किन छोड्नुभयो ? त्यसैले यो प्रश्नमा कुनै तुक छैन ।

प्रधानमन्त्री बन्न मरिहत्ते गर्ने स्वभाव छैन मेरो । आफ्नो योग्यताको आफैं प्रशंसा गर्दै हिँड्ने बानी पनि छैन । मेरा के छन् योग्यता, के छन् कमजोरी, विशेषतः मूल्यांकन गर्नुपर्ने जिम्मेवारी अरुको हो

काठमाडौं २ मा तपाईंका योगदान के-के छन् बताइदिनुस् न ?

थुप्रो छन् थुप्रो । मेरो पहलमा बाटाघाटा बनेका छन् । स्कुलका भवन, स्वास्थ्य चौकी निर्माण भएका छन् । पोलिटेक्निक इन्स्टिच्युट निर्माण भएको छ । भूकम्पका बेला म गाउँ-गाउँ घुमेको छु । टोल-टोल, बस्ती-बस्ती पुगेको छु । हजारौं कार्यकर्ता परिचालन गरेर जनतालाई राहत उपलब्ध गराइएको छ । भत्किएको घर सफा गर्ने काममा मैले भूमिका खेलेको छु । घर निर्माण गरेर भूकम्पपीडतका हातमा उपलब्ध गराउने काममा मेरो भूमिका छ ।

सिन्धुपाल्चोक जाने बाटो मेरै प्रयत्नबाट पिच भयो । अहिलेसम्म त्यो बाटो अत्यन्तै राम्रो छ । अरु बाटोको निर्माण मेरै प्रयत्नमा भएको छ ।

सरकार कांग्रेसको हुँदा पनि म आफैं गएर ज्ञापनपत्र बुझाएर जनप्रतिनिधिको हैसियतमा नै काम गरेको छु । यहाँका जनताको प्रतिनिधि भएर ज्ञापनपत्र पढेर सुनाउने, दबाव दिने, योजना आयोगबाट कार्यक्रम स्वीकृत गराउने, मन्त्रालयबाट रकम विनियोजन गर्न लगाउने गर्दै आएको छु । त्यो रकमका आधारमा कहीँ खानेपानीको व्यवस्था भएको छ, कुनै ठाउँमा टेलिफोनको टावरको व्यवस्था भएको छ, कुनै ठाउँमा बिजुलीका पोल गाडिएका छन्, बिजुलीका तारहरु जोडिएका छन्, कहीँ पार्कहरु बनेका छन्, कहीँ अपांगता भएकाहरुको निम्ति अस्पताल बनाउने पहल भएको छ । यी सबै कामहरुमा मेरो भूमिका छ ।

अहिले चाहिँ के भनेर भोट माग्दै हुनुहुन्छ ?

भ्रष्टाचार, ढिलासुस्ती जस्ता विकासलाई अवरुद्ध गर्ने कामबाट देशलाई मुक्ति दिने मेरो एजेन्डा छ । नेपाली कांग्रेसले तीनचोटि बहुमतको सरकार बनायो तर देश बनाउन सकेन । देश बर्बाद भयो । बर्बाद गर्नेमा नेपाली कांग्रेसका नेता प्रमुख जिम्मेवार छन् । कम्युनिष्टले कहिल्यै बहुमतको सरकार बनाउन सकेका छैनन् । अल्पमतको सरकार पनि ९ महिना, ७ महिना मात्रै टिक्न सकेका छन् । त्यसकारण यो पटक एमाले र माओवादीको गठवन्धनलाई बहुमत दिनुस् । देशको विकास र समृद्धिको हाम्रो परिकल्पना छ, चाहना छ । यही भन्ने गरेको छु ।

कांग्रेस नेताहरुले जस्तो भविष्यमा प्रधानमन्त्री हुन सक्छु भनेर भोट माग्नुभएको छैन ?

मैले त्यस्तो किन गर्दिनँ भने ममा प्रधानमन्त्री बन्ने रहर छैन, देश बनाउने भोक छ । देश बनाउनुपर्छ भन्ने संकल्प छ । देश बनाउनका लागि को योग्य छन्, को सक्षम छन्, कसलाई विश्वास गर्न सकिन्छ भन्ने कुराको सन्दर्भमा त समयले मूल्यांकन गर्ने हो । पार्टीहरुले निर्णय गर्ने हो । गठवन्धनले तय गर्ने हो । प्रधानमन्त्री बन्नका लागि हुरुक्क, हिरिक्क हुनुपर्ने, मरिहत्ते गर्ने स्वभाव छैन मेरो । आफ्नो योग्यताको आफैं प्रशंसा गर्दै हिँड्ने बानी पनि छैन । मेरा के छन् योग्यता, के छन् कमजोरी, विशेषतः मूल्यांकन गर्नुपर्ने जिम्मेवारी अरुको हो ।

यो क्षेत्रका जनताको चाहना र आवश्यकता के पाउनुभएको छ ?

यहाँ विभिन्न ठाउँमा बाटोलाई पीच, ढलान र ढलको व्यवस्था गर्ने चाहना र मागहरु आएका छन् । पिउने पानीको बन्दोबस्तको कुरा उठेको छ । जग्गाको क्षतिपूर्तिको कुरा उठेको छ । आफ्नो जग्गाको भोगाधिकारको कुराहरु उठाइएको छ । रोजगारीको समस्या चर्को छ । यसलाई समाधान गर्नुपर्ने छ । विपन्न समुदायका लागि पनि विशेष ढंगले राज्यले व्यवस्था गर्नुपर्ने खाँचो छ ।

आदरणीय विपन्न समुदायका लागि पनि विशेष ढंगले राज्यले व्यवस्था गर्नुपर्ने खाँचो छ । महिला, बुढापाका, युवा सबैका आ-आफ्ना बर्गीय, सामुदायिक र पेशागत मागहरु छन् । सबैलाई सम्वोधन गर्ने गरी र त्यसलाई पूरा गर्ने गरी मैले जनताको माझमा आफूलाई उभ्याएको छु ।

वाम गठवन्धनले गर्दा तपाईंहरुमा औधि दम्भ बढेको छ भनिन्छ नि ? 

दम्भ बढेको छैन । बढ्न पनि हुँदैन । दम्भले नोक्सानी बाहेक केही पनि गर्दैन । दम्भ र अहंकार भनेको त्याज्य कुरा हुन् । ग्रहणशील चिज होइनन् । जति धेरै विनम्रता भयो उति राम्रो हुन्छ । जति धेरै लचकता भयो त्यति राम्रो हुन्छ । त्यसैले विनम्रता र एकोमोडेसनमा हामी विश्वास गछौं । चुनावको नियमलाई सबैले सम्मान र पालन गर्नुपर्छ ।

हामी राष्ट्रियताप्रति, लोकतन्त्रप्रति र सामाजिक उत्थान र समृद्धिप्रति प्रतिवद्ध छौं । यही प्रतिवद्धताका आधारमा स्थानीय चुनावमा जनताले हामीलाई पत्याए । अब वाम गठवन्धनको बहुमतको सरकार बन्ने सम्भावना देखिएको छ । यो सबै सम्भवतः हाम्रो काम, हाम्रो मिहिनेत, इमान्दारिता, कर्तव्यनिष्ठाको परिणाम हो ।

वाम गठवन्धनको बहुमतको मात्रै अपेक्षा छ कि दुई तिहाईकै आशा गर्नुभएको छ ? 

दुई तिहाईलाई लक्ष्य राखेर अघि बढिरहेका छौं ।

तपाई यो क्षेत्रको स्थानीयवासी पनि हुनुहुन्छ । यहाँबाट निर्वाचित कांग्रेस सांसद दीपक कुईंकेलले गरेको कामको कसरी मूल्यांकन गर्नुभएको छ ?

मलाई थाहा छैन । कसले के गर्‍यो जनतासँग सोध्नुभए हुन्छ । जनताले नै मूल्यांकन गर्छन् । मलाई अरुको व्यक्तिगत टीकाटिप्पणी गर्न मन लाग्दैन ।

मैले आफ्नो तर्फबाट जे कर्तव्य निर्वाह गर्नुपर्ने हो, त्यो निभाएको छु । कतिपय हुन कुरा हुन सकेका छैनन् भने त्यो समय क्रममा हुनेछन् । सबैथोक रातारात हुन सक्दैन । एउटा भनाई छ ‘रोम वाज नट विल्ट इन अ डे’ ।

हामीसँगको कुराकानीमा दीपक कुईंकेलले के आरोप लगाउनुभयो भने यो चुनाव जित्न तपाईंले पैसाको खोलो बगाइरहनुभएको छ । के यो सत्य हो ?

कहाँ खोलो देख्नुभयो ? खोलै भएपछि त सबैको नजर पर्नुपर्ने हो । कहाँ-कहाँ खोला फेला पार्नुभएको छ, ठ्याक्क त्यो खोलो मतिर फर्काइदिए भइहाल्यो नि ।

यो क्षेत्रमा विवेकशील पार्टीका उम्मेदवार डा. सूर्यराज आचार्य पनि उम्मेदवार हुनुहुन्छ । उहाँले भोट काट्ने डर छ कि छैन ?

मलाई धेरै जानकारी छैन उहाँको बारेमा । जसका बारेमा धेरै थाहा छैन, उसका बारेमा टिप्पणी गर्नुपनि हुँदैन । यसै पनि कसैप्रति व्यक्तिगत टीकाटिप्पणी गर्ने मेरो बानी छैन । उम्मेदवार जोजो उठ्नुभएको छ, उहाँहरु सबै देशको निम्ति चिन्तत हुनुहोस, सहयोगी भावना राख्नुहोस्, जितहारलाई सहजरुपमा लिनुहोस । राम्रो संस्कार देखाउनुहोस् मेरो यही भनाइ छ ।

आफ्ना मतदातालाई के भन्न चाहनुहुन्छ ?

आफ्नो बुद्धिविवेक सही ढंगले प्रयोग गर्नुस् र दशकौंसम्म राष्ट्रको निम्ति आफूलाई समर्पित गरेका वाम गठवन्धनका उम्मेदवारलाई जिताउनुस् भन्न चाहन्छु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com